देश र परिवेश सार्वजनिक

संग्रहमा संग्रहित प्रायः कवितामा राष्ट्र र राष्ट्रियता, स्वतन्त्रता, खुसी, सपना, इतिहास, पहिचान, आप्रवासन, शिक्षा, चुनाव, लैंगिकता, यात्रा, युद्धलगायतका विषय समेटिएको छ

काठमाडौं । कवि डा. सुरेन्द्र सिटौलाको कविता संग्रह ‘देश र परिवेश’ बजारमा आएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच उक्त संग्रहको शनिबार विमोचन गरे । उनले भने, ‘लेखकले संग्रहमा आफ्नो पेसागत कार्यकालमा अनुभव गरेका देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकृतिहरूको चित्रण गरेका छन् ।’

उनले भावी पुस्तकका लागि संग्रह ऐतिहासिक दस्तावेज बन्ने धारणा व्यक्त गरे । साहित्यकार प्राडा बद्रीविशाल भट्टराई र अशेष मल्लले नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न सामाजिक परिवेशलाई लेखकले कवितामा उल्लेख गरेको चर्चा गर्दै देश र समाजको चित्र प्रस्तुत गरिएको बताए ।

कवि डा. सिटौलाले संग्रहमा समाजमा देखिएका देश–कालमा भोगेका विषयलाई उतारेको बताए । देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शनजस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविताहरू यस संग्रहमा रहेका छन् ।

संग्रहमा संग्रहित प्रायः कवितामा राष्ट्र र राष्ट्रियता, स्वतन्त्रता, खुसी, सपना, इतिहास, पहिचान, आप्रवासन, शिक्षा, चुनाव, लैंगिकता, यात्रा, युद्धलगायतका विषय समेटिएको लेखकले जानकारी दिए ।

देश, हारेको सहिद र म, भाग्य, पुरुषार्थ र जाँगर, पृथ्वीनारायण कतै फर्किसके, अब मैले यहाँ बस्नु हुँदैन, नेताको धर्म, सहिद हराएको बिहान, म एउटी आमा खोज्दैछु, सुख र शान्तिको मृगतृष्णा, बुद्ध जयन्ती र म लगायतका कविता रहेका छन् ।

प्रतिक्रिया