फिल्म निर्मातालाई ६ वर्षको जेल

नोम्पेन्ह । अस्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई कम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा ६ वर्षको जेल सजाय तोकिएको छ ।

अस्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई कम्बोडियाली अदालतले सुनाएको ६ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ ।

उनलाई गत वर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको भन्दै ६ वर्षको जेल सजाय सुनाएको हो ।

गत वर्षको जुन महिनामा कम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी र्यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए ।

यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रूपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उनलाई लगाइएको थियो ।

गत वर्षको जुनदेखि थुनामा राखिएका उनको मुद्दाको सुनुवाइ यसै हप्ता सुरु भएको थियो । ६ दिनको सुनुवाइपछि शुक्रबार त्यहाँको अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको हो ।

फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुईवटा मुद्दा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई ६ वर्षको जेल सजाय तोकिएको उक्त अदालतले बताएको छ । उनले कम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर, सो आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् ।

अदालतमा सुनुवाइ भइरहेकै वेला उनले चर्को स्वरमा भनेका थिए, ‘विश्वासै गर्न नसकिने, मैले कम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ ?’

चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलाका विरुद्ध कम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिए । चलचित्र निर्माता रिक्सटन ६९ वर्षका छन् । उक्त फैसला सुनाइएपछि उनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया