शरणार्थीसम्बन्धी सहयोग बन्द गर्दै अमेरिका

वासिंगटन । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ ।

अमेरिकी विदेश मन्त्रालयले ‘युनाइटेड नेसन्स रिलिफ एन्ड वक्र्स एजेन्सी अर्ना’ सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण रहेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, ‘अमेरिकी प्रशासनले सो विषयलाई सावधानी पूर्वक समीक्षा गरेको छ र अर्नालाई अब थप योगदान पुर्याइने छैन ।’

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको ‘ठाडो आक्रमण’ भएको बताएका छन् ।

नाबिल अबु रुदैनाले समाचार संस्था रोयटर्सलाई भने, ‘यस्तो दण्डात्मक कदमले यो क्षेत्रमा संयुक्त राज्यको भूमिका अब नरहेको र ऊ समाधानको एउटा हिस्सा नरहेको तथ्यलाई बदल्न सक्ने छैन ।’

उनले अमेरिकी निर्णय राष्ट्रसंघीय संकल्प प्रस्तावहरूप्रतिको एउटा अवज्ञा भएको समेत बताए । अर्नाका एकजना प्रवक्ता क्रिस गुनेजले शृंखलाबद्ध ट्विटमार्फत सो निकायको बचाउ गरेका छन् ।

उनले लेखेका छन्, ‘अर्नाका विद्यालय, स्वास्थ्य केन्द्र र आपतकालीन सहायता कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको सम्भावित सबैभन्दा कडा शब्दमा अस्वीकार गर्दछौँ ।’ गत जनवरीमा अमेरिकाले अर्नालाई दिइने आधा जति रकम रोक्ने घोषणा गरेपछि पछिल्लो कदम चालेको हो ।

खासमा सन् १९४८ को अरब–इजरायल युद्धका कारण विस्थापित हुन पुगेका हजारौँ प्यालेस्टिनीहरूको रेखदेख गर्न अर्नाको स्थापना गरिएको थियो । सो निकायले अहिले वेस्ट बैंक, गाजा र इजरायलका छिमेकी देशहरूमा ५० लाखभन्दा बढी मानिसलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दछ ।

अमेरिका सो निकायलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने दाताको रूपमा रहिआएको छ । उसले सो क्षेत्रमा अर्नाको करिब ३० प्रतिशत जति कामका लागि एक्लै सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया