सिभिल इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दो

काठमाडौं । सिभिल इन्जिनियरिङमा विद्यार्थीको मुख्य आकर्षण देखिएको छ । यही कारण प्लस टुको रिजल्टपछि धेरै विद्यार्थी इन्जिनियरिङ तर्फको सिभिलमा अत्याधिक प्रतिस्पर्धाका साथ भर्ना पाउने क्रममा छन् । समाजमा सवै इन्जिनियरप्रतिको सम्मान उतिकै भए पनि धेरैको आकर्षण सिभिल बन्न पुगेको छ ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठका अनुसार सिभिलपछि आर्किटेक्टप्रतिको आकर्षण वढी छ । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभवमा यसपछि क्रमशः सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनप्रतिको आकर्षण वढी छ ।

प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहमा भर्ना हुने समय छ । साथसाथै इन्जिनियरिङमा भर्ना हुने समय पनि । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् ।

स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् । विद्यार्थी विमल यादब सिभिलको अध्ययन पूरा भएपछि तत्कालै रोजगारी पाइने भएकाले आफू सिभिलप्रति आकर्षित भएको सुनाए । उनी भन्छन्, ‘यसबाहेक राम्रो कमाई पनि गर्न सकिने भएकाले मैले यो विषय रोजेको हुँं ।’

नेपाल इन्जिनियरिङ काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुवन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियङि विषयको पठनपाठन गराइरहेका छन् ।  तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिङका पढाइ भइरहेका छन् ।

यस हिसावले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरकै उपप्राचार्य सहप्राध्यापक दीपक धामी बढी विद्यार्थीको अकर्षण भएको सिभिललगायतका विषयमा सिट फुल भइसकेको जानकारी गराए ।

प्रतिक्रिया