शिक्षक सेवा आयोग माग: साढे १२ हजार, आवेदन सवा दुई लाख

अप्सरा गौतम काठमाडौं । शिक्षक सेवा आयोगले करिब १३ हजार पदका लागि खुलाएको खुल्ला प्रतिपस्र्धाको परिक्षाका लागि दुई लाख परिक्षार्थीको आवेदन परेको छ । सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरी १२ हजार ७ सय ३९ दरबन्दीको पदपूर्तिका लागि विज्ञापन गरेकोमा हालसम्म दुई लाख २५ हजार शिक्षकको आवेदन परेको हो ।
खुल्ला प्रतिस्पर्धामार्फत शिक्षक छनोट गरि सामुदायिक विद्यालयको रिक्त पद पूर्ति गर्न खुल्लाएको परिक्षामा परिक्षार्थीको उत्साह जनक सहभागिता देखिएको छ । आयोगले विधानअनुसार ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न २२ हजार ७९ पदका लागि परिक्षा सम्पन्न गरिसकेको छ ।

यसअघि चार पटकसम्म स्थगित भई पाँचौँपटक असार २९ र ३० गते भएको परिक्षामा २३ हजार २ सय ८६ अस्थायी शिक्षकले परीक्षा दिएका थिए । बाँकी, २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिइएको थियो । आयोगले प्राथमिक तहको हकमा ६ वर्षपछि र निमावि तथा माविको तीन वर्षपछि खुल्ला विज्ञापन गरेको हो ।

आयोगका प्रशासकीय प्रमुख तुलसीराम अर्यालले परीक्षामा सहभागी हुन चाहने आवेदकको संख्या ह्वात्तै बढेको बताउँछन् । ‘कतिपय जिल्लाको विवरण आउँन अझै बाँकी छ । हालसम्म करिब दुई लाख २५ हजारको आवेदन परेको छ ।’ उनले अघि भने, ‘अझै आवेदकको संख्या बढ्ने सम्भावना देखिएको छ ।’

साथै, अर्यालले शिक्षा क्षेत्रको टाउको दुखाइएको विषय अस्थायी शिक्षकको समस्या सदाको लागि अन्त्य भएको दाबी गरेका छन् ।‘भविष्यमा अस्थायी शिक्षकको समस्या यथावत रहँदैन । हामीले तीन तहमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने नीति ल्याएका छौँ । चाँडै अस्थायी शिक्षक नै नरहने अवस्था निर्माण गर्नेर्छाै ’ उनले भने ।

लामो समयपछि मात्रै खुलाइएको आयोगबारे बोल्दै उनले भने, ‘अब कार्यतालिका अनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।’ हालसम्म, आयोग अन्तर्गत १ लाख ७ हजार शिक्षक दरबन्दी रहेको थपलियाले जानकारी दिए ।

अर्यालले, परिक्षामा सहभागी भएका सम्पूर्ण अस्थायी शिक्षक स्थायी हुने तथा परिक्षामा असफल भएकालाई सुविधा दिएर बिदा गर्ने भएकाले अस्थायी शिक्षक नै नरहने बताएका हुन्। आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ ।

त्यसैगरी, निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । विज्ञापनमा शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया