शिक्षकलाई सिकाइस्तर सुधार्न शिक्षामन्त्रीको सुझाव

अप्सरा गौतम काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कक्षाकोठाको सिकाइस्तर प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर सुधार्न सुझाव दिएका छन् । तत्कालीन माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित पाँच दिने सुचना प्रविधि तथा नेतृत्व विकास राष्ट्रिय कार्यशालामा बोल्दै शिक्षामन्त्री पोखरेलले शिक्षकको सिकाई तथा कक्षा कोठाको प्रस्तुतीले विद्यालय शिक्षा सुधारमा अहम् भूमिका खेल्ने बताएका हुन् ।

सामुदायिक विद्यालयको अवस्था सुधार्नु चुनौतीपूर्ण भएको भन्दै उनले शिक्षक संघ र संगठनलाई नेतृत्वदायी भूमिका निभाउन आग्रह गरेका छन् । पोखरेलले भने ‘शिक्षकले विद्यालयको कक्षा कोठामा आफ्ना भूमिका निभाउने हो । शिक्षा ऐनको आठौँ संसोधन सोही प्रक्रियाको लागि गरिएको हो । शिक्षकले आफ्नो सामथ्र्यलाई कक्षा कोठामा देखाउँदा शिक्षाको गुणस्तर सुध्रन्छ ।’

उनले सिकाइ स्तरको अभिवृद्धिका लागि पेसागत नैतिकता र संगठनात्मक नैतिकता आवश्यक भएको औँल्याएका छन् । विद्यालयको अवस्था शिक्षकको सफलताले निर्धारण गर्ने बताउँदै उनले संगठनलाई नयाँ स्वरूपबाट विद्यालयको निरीक्षण गरिदिन आग्रह गरेका छन् । पोखरेलले संघीय कानुन निर्माणका लागि सघाउँन शिक्षकहरूलाई आग्र्रह गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार सकारात्मक ढंगले लागेको बताए ।

साथै, उनले डा.केसीको अनसनलाई समर्थन गर्दै आन्दोलनमा होमिएको नेपाली कांग्रेसलाई राजनीतिक अराजकता ननिम्त्याउन आग्रह गरका छन् । नेपाली कांग्रेसको अराजकताका कारण नै अस्तव्यस्तता सिर्जना भएको संकेत गर्दै उनले सबै पक्षलाई समेटेरै समस्याको निकास निकाल्ने बताए । पोखरेलले यथासक्य चाँडो शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले माथेमा आयोगको प्रतिवेदन तथा सुझावको आधारमा विद्येयक निर्माण गरिएको र उपत्यकामा मेडिकल खोल्न नखोल्न, विश्वविद्यालयले कति कलेजलाई सम्बन्धन दिने भन्ने निर्णयको अधिकार आयोगलाई भएको दोहोर्याए ।  चिकित्सा शिक्षाका समस्या समाधानमा काम हुँदाहुँदै बीचमै अनशन बसिएको र अनशनको कारण चिकित्सा शिक्षा अस्तव्यस्त बनाउने राजनीतिक खेल सुरु भएको पोखरेलले जिकिर गरे ।

जिल्ला प्रशासन, प्रदेश प्रमुखलगायत सबैले गोली नचलेको प्रदर्शनकारीको सिसाको टुक्रा लागेर प्रहरी घाइते भएको बताउँदा बताउँदै पत्रपत्रिकाहरूले एकोहोरो गोली चलेको समाचार प्रकाशित गरेको प्रति मन्त्री पोखरेलले आक्रोश व्यक्त गरे । प्रदेश–३ का सामाजिक विकासमन्त्री युवराज दुलालले अब वैज्ञानिक, व्यावहारिक, जीवनोपयोगी शिक्षा मात्रै भनेर नपुुग्ने व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिँदै स्मार्ट दिमागका शिक्षकले मात्रै स्मार्ट शिक्षा दिन सक्ने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकहरूलाई सूचना प्रविधिमैत्री बनाउनका साथै शिक्षण सिकाइलाई प्रविधियुक्त र सीपमूलक बनाउन पाँचदिने सूचना प्रविधि कार्यशाला सञ्चालन गरिएको जानकारी दिए । कम्प्युटर चलाउन नजान्ने, इन्टरनेटमा सामग्री खोज्न नजान्ने व्यक्ति असल शिक्षक बन्न नसक्ने भएकाले नै संगठनले आफ्नै पहलमा शिक्षकहरूलाई सूचनाप्रविधिमैत्री बनाउने पहल सुरु गरेको उनले जिकिर गरे ।

अब शिक्षक संगठनको भूमिका पनि रूपान्तर हुन जरुरी छ, आन्दोलनमा मात्रै केन्द्रित संगठनहरू अब शिक्षण सिकाइ सुधारमा केन्द्रित हुन जरुरी छ ।अधिकारीले भने–‘संगठनले त्यसैको सुरुआत गरेको छ ।’ कार्यक्रममा संगठनको मूखपत्र शिक्षक आह्वान पुस्तकको विमोचन गरिएको थियो । संगठनले आजबाट सुरु गरेको सूचना प्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला पाँच दिनसम्म सञ्चालन हुनेछ । कार्यशालामा देशभरका दुई सयभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया