राजपाको मुख्य सर्त : रेशम चौधरीको रिहाइ

सौर्य समाचार
काठमाडौं । संघीय संसद्को तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासामु एउटै सर्त राखेको छ । राजपा नेताहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई भेटेर सहयोग चाहिने भए जेलमा रहेका सांसद रेशमलाल चौधरीको सपथ र रिहाइको सर्त राखेको हो ।

राजपा अध्यक्ष मण्डलका नेताहरूले बिहीबार प्रधानमन्त्री ओली र विपक्षी नेता देउवालाई भेटेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई बालुवाटार र विपक्षी नेता देउवालाई संसद् भवनमा भेटेका हुन् । सरकारलाई समर्थन गरेको लामो समयसम्म पनि सांसद चौधरीलाई सपथ र रिहा गर्ने काम नभएको भन्दै राजपा नेताहरूले प्रधानमन्त्री ओलीसँग स्पष्ट धारणा माग गरेका थिए । यस्तै, सरकारविरुद्ध मोर्चाबन्दी गर्न सहयोग मागेका देउवालाई पनि राजपा नेताहरूले सांसद चौधरी रिहाइबारे सहमति मागेका हुन् । राजपा नेतासँगै सभापति देउवाले भनेका थिए, ‘सरकार अधिनायकवादमा जान लाग्यो, तपाईंहरूले हामीलाई सहयोग गर्नुहोस्, मिलेर जाऊँ ।’

जवाफमा राजपा नेताहरूले पहिला आफूहरूको एकसूत्रीय माग भन्दै देउवाको धारणा मागेका हुन् । ‘जेलमा रहेका हाम्रा सांसद रेशम चौधरीबारे कांग्रेसको धारणा आओस्, हामी कांग्रेसलाई साथ दिन तयार छौँ,’ राजपा नेताहरूको भनाइ थियो । वार्तामा राजपा अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव सहभागी थिए । उनीहरूले प्रधानमन्त्रीसँग तराईको विकासको मागबारे ज्ञापनपत्र बुझाएको भनिए पनि मुख्य माग चौधरीको रिहाइलाई अघि सारेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले तराईको समग्र विकासका लागि बृहत् योजना बनाउने प्रस्ताव राजपा नेताहरूसमक्ष गरेका थिए ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापनाका लागि बृहत् योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए । सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । राजपा नेताको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विगतमा उठाएका कतिपय माग असान्दर्भिक भइसकेको भन्दै अब नयाँ सिराबाट अघि बढ्न सुझाएका थिए । ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरूले पनि पुनर्विचार गर्नुहोस्,’ ओलीको भनाइ थियो ।

यस्तै, आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने धारणा ओलीले राखेका थिए । ‘संविधानमा देखिएका त्रुटिहरूमा छलफल गरौँ, तर यसैमा अल्झिएर नबसौँ, देश विकासमा लागौँ,’ प्रधानमन्त्रीको आग्रह थियो । त्यसक्रममा राजपा नेताहरूले चौधरीको रिहाइको कुरा पटक–पटक उठाएका थिए । राजपा नेताहरूले चौधरीको विषयलाई पटक–पटक दोहो¥याए पनि प्रधानमन्त्री ओली र विपक्षी नेता देउवाले ठोस जवाफ भने दिएनन् । दुवै नेताले यस विषयमा मौनता साँधेका हुन् ।

प्रतिक्रिया