केनलाई गोल्डेन बुट र मोड्रिचलाई गोल्डेन बल

मस्को । २१औँ विश्वकप फुटबलको सेमिफाइनलसम्म यात्रा गर्न सफल इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट र उपविजेता क्रोएसियाका स्टार लुका मोड्रिचले गोल्डेन बल प्राप्त गरेका छन् । विजेता फ्रान्सका युवा खेलाडी केलियन एम्बाप्पेले बेस्ट योङ प्लेयरको अवार्ड प्राप्त गरे भने बेल्यिजमका गोलरक्षक थिबाउट कोट्र्वा गोल्डेन ग्लभ्स जित्न सफल भए ।

पाँचपटकको विजेता ब्राजिललाई हराउँदा कोट्र्वाले यादगार प्रदर्शन गरेका थिए । फेयरप्लेको अवार्ड भने ब्राजिलको पोल्टामा गयो । विश्वकपमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट अवार्ड सन् १९३० देखि नै सुरु भएको थियो । गोल्डेन बल सन् १९८२ र गोल्डेन ग्लभ्स सन् १९९४ को विश्वकपबाट सुरु भएको हो ।

गोल्डेन बुटको विजेता २४ वर्षीय केनले खेलेका ५ मध्ये ३ खेलमा ६ गोल गरेका थिए । उनले समूह चरणमा पानामाविरुद्धको खेलमा ह्याट्रिक गर्दा ट्युनिसियाविरुद्ध २ गोल गरेका थिए । प्री–क्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध १ गोल गर्दै केनले ६ गोल पुर्याएका थिए । जुन केनका लागि गोल्डेन बुटको आधार बन्यो ।

यस विश्वकपमा फ्रान्सका स्टारद्वय इन्टोइन ग्रिजमेन, एम्बाप्पे तथा बेल्जियमका स्टार रोमेलु लुकाकुले समान ४ गोल गरेका थिए । पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डो र आयोजक रसियाका डेनिस चेरिसेभले पनि ४ गोल गरेका थिए ।

प्रतिक्रिया