आर्थिक अभावपछि आधारभूत तहमा झर्यो विद्यालय


मीना बुढाथोकी  सल्यान । माध्यमिक तहसम्म सञ्चालनमा आएको एक विद्यालयले आर्थिक अभावबाट गुज्रिएपछि आधारभूत तहसम्म मात्रै कक्षा सञ्चालन गर्न थालेको छ । ०४६ सालमा स्थापना भएको शारदा नगरपालिका–११ खैराबांगमा रहेको जनसेवा मावि पेदीले अहिले आधारभूत तहको मात्र अध्यापन गराइरहेको हो ।

दुई जना मात्र शिक्षक दरबन्दी रहेको सो विद्यालयमा यसअघि स्थानीय अभिभावकले रकम संकलन गरी माध्यमिक तहसम्म कक्षा सञ्चालन गरेका थिए । ‘हामीले अभिभावकहरूसँग रकम उठाएर चार वर्ष यस विद्यालयमा मावि कक्षा सञ्चालन गरेका हौँ,’ विद्यालयका प्रधानाध्यापक तोरणप्रसाद बुढाथोकीले भने, ‘पछि शिक्षकलाई तलब खुवाउन सकिएन, अनि अहिले आएर मावि कक्षा नै बन्द गर्नुपर्यो ।’

विद्यालय स्थापनापछि ०६६ देखि ०६९ सालसम्म यहाँबाट विद्यार्थीले एसएलसी परीक्षा पनि दिएका थिए ।  ‘दरबन्दी अभाव रहेको विद्यालयमा अहिले आधारभूत कक्षा सञ्चालन गर्नसमेत धौधौ परेको छ,’ उनले भने,’ ‘अहिले त लाज लागेर आउँछ, कुनै वेला पाँच सयको हाराहारीमा विद्यार्थीको चाप हुने यस विद्यालयमा अहिले आएर शिशु कक्षासहित मात्र ४४ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।’

विद्यालयको तथ्यांकअनुसार बाल विकासमा ११ जना, कक्षा १ मा सात जना, कक्षा २ मा सात जना, कक्षा ३ मा पाँच जना, कक्षा ४ मा सात जना र कक्षा ५ मा सात जना गरी जम्मा ४४ जना विद्यार्थी रहेका छन् । ६ वटा भवन रहेको सो विद्यालयमा अहिले चार वटा कोठामा मात्र पढाइ सञ्चालन हुने गरेको प्रअ बुढाथोकीले बताए ।

उनले भने, ‘हाम्रो विद्यालयमा भौतिक सामग्री पर्याप्त मात्रामा छ, अहिले पनि हामीले निमावि राहतको तीन जनाको दरबन्दी पायौँ भने अझै पनि हामी मावि कक्षा सञ्चालन गर्न सक्छौँ,’ उनले ठोकुवा गरे । ‘त्यसैले, विद्यालयको नाम पनि माध्यमिक विद्यालय नै रहन दिएका छौँ,’ उनले थपे ।

मावि सञ्चालनमा ल्याउन सके यस विद्यालयमा करिब ४ सयको हाराहारीमा विद्यार्थी संख्या रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकलाल रोकाले बताए । ‘यहाँका स्थानीय अभिभावकको बाध्यता छ, विद्यालय नजिक भए पनि शिक्षक नहुँदा मावि कक्षा सञ्चालन नभएपछि यहाँका विद्यार्थीहरू अन्य विद्यालयमा अध्ययन गर्न जाँदा कोठाभाडा लिएर बस्नु परेको छ,’ एक स्थानीयले भने ।

पायक पर्ने महेन्द्र रतन मावि हिवल्चासम्म जान करिब अढाइ घण्टा लाग्ने भएकाले विद्यार्थीहरू भाडामा कोठा खोज्दै अध्ययनका लागि जिल्लाको श्रीनगर, काभ्रा, गैरागिठी, त्रिवेणी लगायतका स्थानमा रहेका विद्यालयमा जाने गरेका छन् ।

प्रतिक्रिया