विदेशमा अध्ययन गर्ने मोह बढ्दै


अप्सरा गौतम  काठमाडौं । नेपाली विद्यार्थीमा विदेशमा अध्ययन गर्ने रुचि अत्याधिक मात्रामा बढ्दै गएको देखिएको छ । विगतका वर्षहरू भन्दा यसपटक अझै बढी नेपाली विद्यार्थी अस्ट्रेलिया, जापान, अमेरिका लगायतका देशमा जाने गरेको देखाएको हो । पढ्नका लागि शिक्षा मन्त्रालयबाट चाहिने नो अब्जेक्स्न लेटर लिने विद्यार्थीको संख्या अहिले दिनानुदिन बढ्दै गएको छ ।

विदेश अध्ययन गर्न मन्त्रालयबाट दैनिक २ सय ५० देखि ३ सय विद्यार्थीले ‘नोअब्जेक्सन लेटर’ लिने गरेका हुन् । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा ५६ हजार २ सय १९ विद्यार्थीले अस्ट्रेलिया जापान, अमेरिका लगायतका देशमा गएका छन् । आर्थिक वर्ष ०६७/६८ मा ११ हजार ९ सय ८२ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए ।

त्यसपछि सो संख्या अघिल्लो वर्ष घटेर १० हजार ३ सय २४ पुगे पनि त्यसपछि भने क्रमशः बढ्दै गएको छ ।०७४ सालमा मन्त्रालयबाट नो अब्जेक्सन लिनेको संख्या हालसम्मकै सबैभन्दा ठूलो संख्या हो । ०७५ को वैशाख महिनाको सुरुआती तीन सातामा मात्रै ६ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिइसकेको शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखाका प्रमुख देवीप्रसाद उपाध्यायले जानकारी दिए ।

मन्त्रालयको तथ्यांकअनुसार कक्षा १२ को पढाइपश्चात् बिदेसिने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ । यो वर्ष प्लस टु सकेर अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायतका देशमा जान ११ हजार ८ सय ३१ जना, स्नातकोत्तर तहको अध्ययनका लागि ८ हजार २ सय ४३ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् ।

कक्षा १२ पछि स्नातक तहको अध्ययन लागि सहज रूपमा भिसा पाइने भएकाले, प्लस टु पछि नो अब्जेक्सन लेटर लिने संख्या बढेको हो । यसका अलवा भारत, दक्षिण कोेरिया, साइप्रस लगायतका देशमा जाने विद्यार्थीको संख्या पनि अत्याधिक रूपमा बढिरहेको छ । अध्ययनका लागि विदेश जान चाहाने अधिकांश विद्यार्थीको पहिलो रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिका जाने सोच बनाएका विद्यार्थीको आकर्षण अस्ट्रेलियातिर मोडिएको मन्त्रालयको तथ्यांकले देखाएको छ । अमेरिका जाने तयारीमा रहेका विद्यार्थीलाई भिसा दिनमा कडाइ गरेका कारण उनीहरू अस्ट्रेलियाका लागि ‘नो अब्जेक्सन लेटर’ लिने गरेको मन्त्रालयले जानकारी दिएको छ । आर्थिक वर्ष ०७३/७४ मा अस्ट्रेलिया जानकै लागि २८ हजार ६ सय ४२ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् ।

त्यस्तै, १० हजार ८ सय ४० विद्यार्थीले जापान जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । पोल्यान्डका लागि १ हजार ४ सय ७, अमेरिका लागि जम्मा २ हजार ३ सय ३९ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । नेपाल सरकारले नोअब्जेक्सन लेटरमार्फत एक वर्षमा ११ करोडभन्दा बढी राजस्व उठाएको छ ।

प्रत्येक विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाउँदा गत आर्थिक वर्षमा ११ करोड २४ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसका साथै, आर्थिक वर्ष ०७३/७४ मा अध्ययनका लागि भिसा आवेदनमा करिव डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ ।

०७५ मा नो अब्जेक्सन लेटर लिएको आधारमा यो वर्ष बिदेसिने विद्यार्थीको संख्या झनै बढ्ने संभावना रहेको मन्त्रालयले जनाएको छ । शिक्षाविद् विद्यानाथ कोइराला नो अब्जेक्सन लेटर लिएका विद्यार्थी राजनीति अस्थिरता, रोजगारीको अभाव, पारिवारिक समस्या तथा उच्च शिक्षाको सपना बोकेर बिदेसिनु परेको बताउँछन् ।

स्वदेशमा नै पढाइका अनुसारको रोजगारीको अवसर भए विदेश जाने विद्यार्थीको संख्या घट्ने कोइरालाको भनाइ छ ।

प्रतिक्रिया