युवा स्वरोजगार कोषको ऋण लगानी ६ अर्ब


केशव भट्ट काठमाडौं । युवा तथा साना व्यावसायी स्वरोजगार कोषले चालु आवको फागुन मसान्तसम्म एक अर्ब ९ करोड ३६ लाख १५ हजार रूपैयाँ ऋण लगानी गरेको छ । कोषले विभिन्न बैंक तथा वित्तिय संस्था र १३ सय भन्दा बढी सहकारीमार्फत हालसम्म करिब ६ अर्ब भन्दा बढी रकम ऋण लगानी गरिसकेको छ ।

पिछडिएका क्षेत्रका वेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ स्थापना भएको कोषले हालसम्म करिब ५० हजार युवालाई रोजगारी दिन सफल भएको कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले जानकारी दिए ।

‘एक गाउँ एक उत्पादन एवं एक सहकारी एक मुख्य चिनारी’ नारा तय गरेर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ०६५ मा स्थापना भएको कोषले एक करोड भन्दा बढी कर्जा लिएका सहकारीहरूबाट करिब १२ करोड भाखा नाघेको ऋण असुली गर्न बाँकि रहेको छ । चालु आवको ८ महिनामा ८ करोड भन्दा बढी रकम असुल भएको छ, भने गत आवमा करिब ३० करोड हाराहारीमा रकम असुल भएको कार्यकारी निर्देशक गौतमले बताए ।

उनले भने ‘ऋण लगेर सम्झौताअनुसार चुक्ता नगर्ने सहकारीहरूलाई पटकपटक ताकेता गर्दा पनि अटेरी गरेमा कालो सूचिमा राख्न प्रस्ताव गरिएको छ । अन्य तरिकाले समेत कारबाही गर्ने भनेपछि हाल ऋण असुल हुने क्रम बढेको छ ।’ तीन किस्तासम्म पैसा नतिर्ने सहकारीलाई रकम असुल गर्न पत्राचार गर्ने र अटेर गरेमा घरजग्गा रोक्काको लागि सम्बन्धित क्षेत्रको मालपोत कार्यालयलाई पत्राचार गर्ने गरेको कोषले जनाएको छ ।

जसअन्र्तगत हालसम्म ८५ सहकारीका १ हजार १ सय ४४ जना सञ्चालक लगायतको जग्गा रोक्न पत्राचार गरिसकेको छ । त्यस्तै, कोषले रकम नतिर्ने सहकारीलाई डिभिजन सहकारी कार्यालयमार्फत पाउने सेवा सुविधा रोक्नको लागि पत्राचार गर्ने गरेको छ, भने एक करोड भन्दा बढी रकम ऋण लिएर समयमै नतिर्ने सहकारीहरू लाई कालोसूचिमा राखेर कारबाहीको लागि कोषले मन्त्रालयमा सिफारिस गरेको छ ।

जसअन्तर्गत हालसम्म १ सय ७२ सहकारीलाई सहकारी डिभिजन कार्यालयबाट प्रदान गरिने सेवा रोक्न कोषले पत्र पठाएको छ । त्यस्तै, ६ ओटा सहकारीलाई कालोसूचिमा राख्न भन्दै सिफारिस गरेकोमा केही सहकारीले पैसा तिर्न सुरु गरेको कोषले उल्लेख गरेको छ । कोषले ५ वर्षको लागि ऋण सम्झौता गर्ने गरेको छ, भने पहिलो किस्ता ऋण सम्झौता भएको ४२ महिनाभित्र तिरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, समयमै कर्जा चुक्ता नगर्ने सहकारीबाट साँवा, ब्याज तथा हर्जनासमेत असुल गरिन्छ, भने समयमै कर्जा चुक्ता गर्ने सहकारीलाई प्रोत्साहन स्वरूप ब्याजको ६० प्रतिशत रकम फिर्ता गर्ने गरेको कोषका असुली शाखा प्रमुख ज्ञानहरि देवकोटाले बताए । नेपालको अर्थतन्त्र सुदृढीकरण गर्न स्थानीय साधन र श्रोतलाई अधिकतम सदुपयोग गरी ग्रामीण अर्थतन्त्र सबल बनाउन बेरोजगार युवाहरूलाई आवश्यक पर्ने पूँजी, प्रबिधि तथा बजार विकास र विस्तार गर्ने कोषको उद्देश्य रहेको छ ।

त्यस्तै, परम्परागत सीप भएका तर पुँजी अभावको कारण आय आर्जनमा संलग्न हुन नसकिरहेका विपन्न वर्ग, द्वन्द्वपिडित, दलित जनजाति तथा आर्थिक रूपमा पिछडिएका अल्पसंख्यक समुदायलाई प्राथमिकता राखी काम गरिरहेको कोषको दाबी छ । देशका ७७ वटै जिल्लामा लागू हुने गरी उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न थोक कर्जा परिचालन गरेको कोषले नेपाल राष्ट्र बैंकले तोकेको निश्चित प्रतिशत विपन्न वर्ग कर्जाअन्तर्गत लगानी गर्नुपर्ने र उक्त विपन्न बर्ग कर्जाको एक तिहाइ हिस्सा कोषलाई उपलब्ध हुने हुँदा स्थायी श्रोत निर्माण भएको कोषले बताएको छ ।

कोषले उपलब्ध भएको वित्तीय साधन र श्रोत सीप भएका युवाहरू समक्ष पुर्याउनुको साथै, सीप नभएकाहरूलाई सीप सिकाएर उनीहरूको दक्षताको आधारमा विपन्न वर्ग कर्जाअन्तर्गत प्राप्त वित्तीय श्रोत उपलब्ध गराउँदै आएको जनाएको छ । स्वावलम्बी बन्नका लागि युवाहरूलाई बिनाधितो सस्तो ब्याजदरमा २ लाखसम्म ऋण उपलब्ध गराउने अभिप्रायबाट सञ्चालित कार्यक्रमले धेरै युवामा आशा पलाएको भए पनि युवाको लागि सञ्चालित कार्यक्रमबाट लक्षित युवाहरू नै लाभान्वित हुन नसकेको गुनासो छ ।

सीप र इच्छाशक्ति भएका तर आर्थिक अभावमा रहेका युवाहरूलाई उद्यमी बनाउने मनसायले ल्याइएको कार्यक्रमबाट बेरोजगार युवाहरूले भन्दा पहुँच हुनेहरूले लाभ लिएको बताइन्छ ।

प्रतिक्रिया