नारायणहिटी संग्रहालयबाट २३ करोड राजश्व

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४ सय ८५ जनाले अवलोकन गरिसकेका छन् । १५ जेठ ०६५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो ।

नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५ सय १०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका एक लाख ५५ हजार ५ सय ७६ र अन्य मुलुकबाट ६५ हजारले ३ सय ८ जनाले अवलोकन गरेका छन् । यसबाट २३ करोड २४ लाख ५१ हजार ५ सय ५ रुपैयाँ राजश्व संकलन भएको छ ।

टिकट बिक्रीबाट २३ करोड नौ लाख ६७ हजार ३ सय र सवारी साधन पार्किङबाट १४ लाख ८४ हजार २ सय ५ आम्दानी भएको संग्रहालयका सूचना अधिकारी अद्वैत श्रेष्ठले जानकारी दिए । ‘नेपाली विद्यार्थीलाई २०, सर्वसाधारणलाई १ सय, चीनसहित सार्क मुलुकका दर्शकलाई २ सय ५० र अन्य मुलुकका दर्शकलाई ५ सय लिँदै आएका छौँ’ उनले भने ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र दुई लाख ३५ हजार ५ सय ३४ दर्शकले संग्रहालय अवलोकन गरेकामा ८७ हजार ९ सय १८ विद्यार्थी, एक लाख २८ हजार ६२ सर्वसाधारण, १३ हजार २ सय १३ चीनसहित सार्क मुलुकका दर्शक र ६ हजार ३ सय ४१ अन्य मुलुकका दर्शक रहेका छन् । यो वर्ष मात्र २१ लाख तीन हजार ८ सय ३१ राजश्व संकलन भएको छ ।

यस्तै, ८ हजार ३ सय ९२ सवारी पार्किङबाट १ लाख ३५ हजार ८ सय ७५ संकलन भएको छ । संग्रहालयले मोटरसाइकल पार्किङका लागि १०, कार र जिपका लागि २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि ५० दस्तुर लिँदै आएको छ । मंगलबार र बुधबारबाहेक पाँच दिन सर्वसाधारणका लागि खुला गरिने सङ्ग्रहालय दिनको ११ देखि तीन बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था छ ।

सङ्ग्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार संग्रहालयका कार्यालय प्रमुख रोहितकुमार ढुंगाना संग्रहालयलाई थप व्यवस्थित बनाउन सके दर्शकको संख्या वृद्धि हुने बताउँछन् ।

‘विभिन्न कारणले दरबारभित्र रहेको श्रीपेचलगायतका सामग्री देखाउन सकिएको छैन, यस्ता वस्तुलाई समेत अवलोकनमा राख्न सके थप दर्शक भित्र्याउन सकिन्छ’ उनले भने । सङ्ग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ ।

सङ्ग्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही छ । गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक एक हजारदेखि तीन हजार दर्शकलाई जाँच गरेर सङ्ग्रहालयको अवलोकनका लागि पठाउने गरेको जानकारी दिइन् । ‘बिदाको दिनमा अलि धेरै दर्शक अवलोकनमा आउने गरेका छन्’ उनले भनिन् ।

प्रतिक्रिया