मधेसको विकास वाम गठबन्धनले गर्छ : महासेठ

तिवारी यादव
वीरगञ्ज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशको आर्थिक समृद्धिका लागि आपसमा सहकार्य गरेर जानुपर्ने बताएका छन् । वीरगञ्जको आवाज एफएमको दोश्रो वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री महासेठले मधेसमा जति विकास भएका छन्, ती सबै वामपन्थी सरकारले गरेको दाबी गर्दै नारा दिएर मात्रै मधेस र देशको विकास नहुने बताए ।

उनले भने, ‘नाराले मात्रै विकास हुँदैन, इच्छाशक्ति भयो भने मात्रै विकास गर्न सक्छौँ ।’ सक्दै नसक्ने कुराहरू जनतालाई आश्वासन दिन नहुने भन्दै उनले वीरगञ्जमा निर्माण भइरहेको भौतिक पूर्वाधारका योजनाको अध्ययन गरेर एक हप्ताभित्र जानकारी गराउने आश्वासन दिए ।

राज्यले वीरगञ्जलाई कहिल्यै पूर्वाग्रही दृष्टिकोणले नहेरेको बताउँदै मन्त्री महासेठले एकीकृत भन्सार जाँचौकीमा निर्माण हुन बाँकी ७ सय मिटरको सडकको मुआब्जाको पैसा निकासा भइसकेको र त्यसलाई एक महिनाभित्र गाडी आउने–जाने गरी व्यवस्थित हुने गरी निर्माण गर्न विभागलाई निर्देशन दिएको जानकारी दिए ।

भन्सार प्रमुखहरूले पनि आपूmलाई निर्माणमा दबाब दिइरहेको जानकारी दिँदै उनले प्रतिदिन करोडौँ घाटा भइरहेकाले छिटोभन्दा छिटो निर्माण गर्न निर्देशन दिए । देशका विभिन्न स्थानका सडकका अवस्थाबारे जानकारी लिनकै लागि आपूm हवाई मार्गबाट नभई स्थलमार्गबाट आउने–जाने गरेको बताउँदै उनले गण्डक र घण्टाघरसम्मको डिजाइनबारे सम्बन्धित कार्यालयका प्रमुख र प्राविधिकहरूलाई हेर्न पठाएर जानकारी लिने बताए ।

वीरगञ्ज–रक्सौलको मितेरी पुल व्यापारिक दृष्टिकोणले निर्माण गरिएको भन्दै त्यसलाई पर्यटकीय दृष्टिकोणले थप मर्मतको आवश्यकता रहेको भन्दै उनले त्यसको बारेमा आपूmले अध्ययन गरेर पहल गर्ने बताए । उनले भने, ‘विकासको लागि विनाश गर्नु भएन, तर विनाश नगरी विकास पनि नहुने भएकोले कति विकास गर्दा कति विनाश हुन्छ, त्यो पनि हेरेर मर्मत गर्नुपर्छ ।’

कार्यक्रममा पूर्वसांसद विचारी यादवले वीरगञ्जको घण्टाघरदेखि गण्डकसम्मको मात्रै कुरा उठाएको भन्दै भन्सारसम्मकै सडक विस्तार गर्नुपर्नेमा जोड दिए । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश–२ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, उपाध्यक्ष सुबोध गुप्ता लगायतले वीरगञ्जको भौतिक संरचनाको विकासमा केन्द्र सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया