धुलो व्यवस्थापन गर्न बु्रमर खरिद गर्दै महानगर

सञ्जिता आचार्य

काठमाडौं । राजधानीमा रहेको धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले धुलो तान्ने मेसिन (बु्रमर) खरिद गर्ने भएको छ । धुलो व्यवस्थापनका लागि महानगरपालिकाले बु्रमर खरिद गर्न लागेको हो ।

महानगरसँग हाल एउटा मात्र ब्रुमर भएकाले धुलो व्यवस्थपन गर्न नसकेको भन्दै थप पाँच वटा ब्रुमर खरिद गर्न लागेको महानगरपालिका वातावरण विभागका विभागीय प्रमुख हरि कुवँरले जानकारी दिएका छन् । आवश्यक स्रोत साधनको अभाव भएकाले धुलो व्यवस्थापन गर्न नसकिएको भन्दै महानगरले बु्रमर खरिद गर्न लागेको हो । महानगरपालिकासँग विगतमा तीन ओटा ब्रुमर भए पनि दुई वटा पहिले नै बिग्रिएको र मर्मत गर्न नसक्दा समस्या भएको हो । हाल एउटा मात्र सञ्चालनमा रहेकाले उपत्यकाको धुलो व्यवस्थापन हुन नसकेको हो । उनी भन्छन्, ‘एउटा छ, सबै ठाउँको धुलो उडाउन सम्भव हँुदैन, बिहानको समयमा काम गर्ने भएकाले बस गुड्न थालेसँगै धुलो बढिहाल्छ ।’

सडकको दाँयाबायाँ धुलो भएकाले जति नै सफा गरे पनि चाहेअनुरूप नभएकोे कुँवरले बताएका छन् । महानगरले खरिद गर्न लागेको सो मेसिनले सडकमा रहेको धुलो तानेर जम्मा गर्ने गर्दछ । काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले सय दिनमा काठमाडौंलाई धुलोरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । ५९ नम्बर बुँदामा रहेको क्लिन द सिटी अभियानको प्रारम्भमा धुँवाधुलो न्यूनीकरण गरी नो माक्स सिटी बनाउने प्रतिबद्धताअनुरूप काम गर्न थालिएको हो ।

१४ जेठमा मेयरमा निर्वाचित भएका शाक्यले १७ गते कार्यभार सम्हालेका थिए । पहिलो कार्यपालिका बैठकले महानगरमा क्लिन काठमाडौं अभियान थालनी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा सूर्योदयअगावै फोहोरलाई विसर्जन र व्यवस्थापन गर्ने उल्लेख थियो । महानगर धुलोधुवाँमुक्त हुनुको साटो सडकका फोहोर पनि उठ्न नसक्दा महानगर दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ ।

मेलम्ची खानेपानीको लागि काठमाडौं उपत्यका खानेपानी योजनाले पानीका पाइप विछ्याउन सडक खनेकाले धुलो व्यवस्थापन गर्न कठिन भएको कुँवरको भनाइ छ । पाइलाइनको लागि सडक भत्काएकाले काम नभएको हो । अबको तीन महिनाभित्र ब्रुमर ल्याउने काम हुने बताउँदै सडकको काम सकिएसँगै काठमाडौंलाई स्वस्छ र हराभरा बनाउने कुँवरले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया