राजधानीमा पर्यटकीय पदयात्रा

सञ्जिता आचार्य
काठमाडौं । विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडांै महानगरपालिकाले आइतबार राजधानीमा पर्यटकीय पदयात्रा तथा सरसफाइ अभियान सञ्चालन गरेको छ । महानगरले वसन्तपुरस्थित विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा र सरसफाइ अभियान सञ्चालन गरेको हो ।

एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्ने र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले सप्ताहव्यापी अभियान आइतबारदेखि सुरु भएको हो । विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, कलाकार, स्थानीयवासी लगायतको सहभगिता थियो ।

अभियानको पहिलो दिन काष्ठमण्डप तथा त्यस आसपासका क्षेत्र हुँदै भुरुंखेलसम्म स्थानीयवासीलाई समेत सहभागी गराइएको छ । सांसद जीवनराम श्रेष्ठले त्यस क्षेत्रमा रहेका विभिन्न प्राचीन–ऐतिहासिक महत्वका सम्पदाको विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई आफ्नो टोल तथा क्षेत्रलाई सफा र व्यवस्थित गर्न आग्रह गरेका छन् ।

उनले सम्पदाको भण्डार रहेको काठमाडौंका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्दै यसलाई पर्यटकीय उद्योगको रूपमा स्थागित गराउने योजना रहेको बताए । काठमाडांै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अभियानले नेपालको अन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले संरक्षणका अभावमा पुराना सम्पदा जीर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका विभिन्न सम्पदाबारे जनचेतना अभिवृद्धि गर्न स्थानीयवासीको सक्रियताको अपेक्षा गरेका छन् ।

यही ५ वैशाखका दिन अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइँदैछ । स्थानीय बाजागाजा, झाँकी, सेना, प्रहरी, विद्यार्थी, खेलाडी लगायतको सहभागितामा स्वयम्भूसम्म ८ वैशाखमा सम्पदा पदयात्रा हँुदै छ । त्यस क्षेत्रमा हनुमानढोकादेखि स्वयम्भूनाथसम्मको २ दशमलव २ किलोमिटरभित्र मरुगणेश (बाह्रौँ शताब्दी), काष्ठमण्डप (सातौँ शताब्दी), मरुहिटी (लिच्छविकालीन), सन्तानेश्वर महादेव (विसं १७३४), मरुबही (तेह्रौँ शताब्दी), बञ्जाहिटी, नरदेवी आदि सम्पदा रहेका छन् । प्राचीन नगरको सुरक्षार्थ चारैतिर खोला, नगर प्रवेशद्वार तथा नगरको किनारमा खुला क्षेत्र छन् । प्राचीन समयमा हुने लडाइँमा सर्वसाधारणलाई बचाउन त्यस्ता क्षेत्रको उपयोग गरेको पाइन्छ ।

प्रतिक्रिया