विदेशी खेलाडीको अग्रता

काठमाडौं ओपन चेस

काठमाडौं । काठमाडौैं ओपन अन्तर्राष्ट्रिय जिएम चेस प्रतियोगितामा उच्च वरीयताका विदेशी खेलाडीले अग्रता लिएका छन् । छैटौँ चरणका खेल सकिँदा ७ ग्रान्डमास्टरसहित १४ जना खेलाडीले ५ अंकसहित संयुक्त अग्रता हासिल गरेका छन् । होमल्यान्ड स्पोर्टस् क्लबको आयोजनामा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा जारी प्रतियोगिताको छैटौँ चरणमा भारतीय इन्टरनेसनल मास्टर हर्ष भाराथाकोटी र युक्रेनका ग्रान्डमास्टर (जिएम) तार्लेभ कन्सेन्टिनलेले बराबरी खेल्दै दुवैले ५ अंकका साथ संयुक्त अग्रता बनाए ।

त्यसअघि, हर्षले रसियाली जिएम फोमिनी अलेक्जान्दरलाई हराएका थिए । भारतका जिएम श्रीराम झाले पनि अजरबैजानका जिएम मिर्जोभ अजरसँग बराबरी खेले । दुवै खेलाडी ५ अंकसहित संयुक्त शीर्ष स्थानमा छन् । पाँचौँ चरणमा अजरले भारतका जिबी हर्षबर्धन र झाले भारतकै अनुप देशमुखलाई हराए । बेलारुसका जिएम कास्पारोभ सर्गेइ र इजरायलका जिएम ग्रिनफिल्ड एलोनले पनि बराबरी खेले । दुवैको ५ अंक छ ।

पाँचौँ चरणमा सर्गेइले युक्रेनका जिएम तार्लेभ कन्स्टेन्टिनसँग र एलोनले पनि भारतीय जिएम सन्दिपन चन्दासँग बराबरी खेले । छैटौँ चरणमा सन्दिपनले भारतकै प्रतिक पाटिललाई र भारतकै जिएम दीपसेन गुप्ताले आफ्नै देशका एन रामाराजुलाई हराउँदै ५ अंक जोडेका छन् । पाँचौँ चरणमा उनले देशका इन्टरनेसनल मास्टर (आइएम) पी श्यामनिखिलसँग बराबरी खेलेका थिए । नेपाली फिडे मास्टर रूपेश जयसवालले भारतका आइएम हिमाल गोसाईंसँग पराजित भएपछि ५ अंकसहित संयुक्त अग्रता लिनबाट चुके ।

बंगलादेशका फिडे मास्टर (एफएम) अब्दुल मोहम्मद भारतका आइएम प्रिन्स बजाजसँग पराजित भए । भारतकै नभलगन्ड निराजनले आफ्नै देशका सोनकलान भारतीलाई हराउँदा नेपाली क्यान्डिडेड मास्टर विवेक थिङ भारतीय खेलाडी शुभायन कुन्डुसँग पराजित भए । उच्च वरीयता (२५९८) का रुसी जिएम भोल्कोभ सर्गेइले नेपाली एफएम मनिस हमाललाई र रुसकै जिएम फोमिनी अलेक्जान्दरले पनि नेपाली क्यान्डिडेड मास्टर नवीन तण्डुकारलाई पराजित गरे ।

नेपालका सुमित पन्त भारतीय खेलाडी सुरिजित पलसँग र विक्रम जाती भारतका हर्षिता गुड्डान्तीसँग पराजित भए । बद्रिलाल नेपालीले छैटौँ चरणमा नेपाली प्रतिस्पर्धी राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेले । नेपाली खेलाडी मणिराज डाँगी श्रीलंकाका कभिन्डा अकिलासँग र क्याज्डिडेड मास्टर भूपेन्द्र निरौला भारतका पुथ्वीकुमारसँग पराजित भए । राजन पुरीले प्रकाश सुवेदीलाई र पुरुषोत्तम चौलागाईंले महेश्वरलाल डंगोललाई पराजित गरे ।

क्यान्डिडेड मास्टर भगवतीप्रसाद शर्माले नेपालकै क्यान्डिडेड मास्टर राजेन्द्र राजभण्डारीलाई पराजित गरे । नेपाली खेलाडी शिखर रेग्मी भारतीय खेलाडी थेन्डुप तामाङसँग पराजित हुँदा हरिचन्द्र चौलागाईं भारतीय खेलाडी सी लक्ष्मीसँग पराजित भए । छैटौँ चरणमा नेपालका सूर्य बस्नेतले पुण्यमान कर्माचार्य, सुरवीर लामाले चेतन शर्मा, एफएम सुजेन्द्रप्रसाद शर्माले सुशील चौधरी र भारतका सायान्तान चन्द्रले विवेकराज श्रेष्ठलाई पराजित गरेका थिए ।

बुद्धिचाल स्थगित
रुकुम पूर्वमा हुने दोस्रो समृद्ध अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता स्थगित भएको छ । आगामी १८ देखि २२ वैशाखसम्म हुने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्नुपरेको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष एवं प्रतियोगिता निर्देशक सुबोधराज शेर्पालीले जनाएका छन् ।

प्रतिक्रिया