आज आमाको मुख हेर्ने दिन

सौर्य समाचार
काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व हो आज । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदैछ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले जानकारी दिए ।

शास्त्रमा सबैभन्दा ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रूपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन् । आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् ।

प्रतिक्रिया