सर्वोच्चद्वारा २९ प्रतिशत मुद्दा फछर्यौट

सौर्य समाचार
काठमाडौँ । सर्वोच्च अदालतले ९ महिनामा २९ दशमलव ८ प्रतिशत मुद्दामा मात्र फछ्र्यौट गरेको पाइएको छ । अदालतले साउनदेखि चैतसम्म ८ हजार तीन सय २४ मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा यसलाई पनि आफ्नो सफलता प्राप्त गरेको भनेको छ । जबकी अदालतमा परेको मुद्दामध्ये यो करिब एक तिहाइभन्दा पनि कम हो ।

सर्वोच्चमा अहिले २७ हजार नौ सय २९ मुद्दा रहेको आइतबारबाट सुरु गरिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ०७४ भन्दा अघि २१ हजार एक सय ७३ मुद्दा र ०७४ मा ६ हजार सात सय ५६ गरी २७ हजार नौ सय २९ मुद्दा सर्वोच्चमा परेका थिए । न्यूनमात्रमा मुद्दा फछ्र्यौट गरे पनि अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले अघिल्लो वर्षभन्दा बढी मुद्दा फछ्र्यौट गरेको बताए ।

‘अतरिक्त समयमा न्यायधीशले काम गरेकोले बढी मुद्दा फछ्र्यौट भएको हो’ उनले भने–‘ एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनवाई गर्दा मुद्दा फछ्र्यौट बढेको हो ।’ अदालतमा ८ हजार तीन सय २४ मुद्दा फछ्र्यौट भए पनि अघिल्लो वर्षबाट सर्दै आएका मुद्दाको आधारमा अझै १९ हजार ६०५ मुद्दा बाँकी नै छन् ।

पुनरावेदन मुद्दा बढी दर्ता
सर्वोच्चमा सबभन्दा बढी पुनरावेदनका लागि मुद्दा पर्ने देखिएको छ । अन्तिम फैसला गर्ने निकाय सर्वोच्च भएकोले बढी पुनरावेदन दर्ताका मुद्दा हुने गरेका छन् । जिल्ला अदालत, उच्च अदालत र विशेष अदालतबाट हुने फैसला चित्त नबुझेर सर्वोच्चमा हालिएका यस्ता मुद्दाको तथ्यांक हाल १६ हजार ६ सय २५ रहेका छन् । जसमध्ये अघिल्लो बर्षबाट सरेर आएका १४ हजार तीन सय ९४ र ०७४ को २ हजार दुई सय ३१ रहेका छन् । तीमध्ये तीन हजार ६ सय १ मुद्दा अर्थात् साढे २१ प्रतिशत मात्र फछ्र्यौट गरेको छ ।

पुनरावेदनपछि पुनरावलोकनका मुद्दा बढी परेको पन्थीले जानकारी दिए । गतवर्ष दुई हजार चार सय ७१ मुद्दा र अघिल्लो वर्षबाट आएका दुई हजार १६ गरी जम्मा चार हजार चार सय ८७ मुद्दा रहेका छन् । सर्वोच्चले मात्र मुद्दा पुनरावलोकन गर्ने अधिकार रहेको छ । बन्दी प्रत्यक्षीकरण, उत्प्रेषण, परमादेश, अधिकार पुञ्छा र अन्तरिम आदेशजस्ता मुद्दा बढी पर्ने गरेको छ ।

प्रतिक्रिया