माइभ्याली गोल्डकपको तयारी तीव्र

इलाम । इलाममा सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी तीव्र पारिएको छ । ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्याराफिट निर्माणको काम धमाभम भइरहेको छ । १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण भइरहेको आयोजक माइभ्याली फुटबल क्लबले जनाएको छ ।

मैदानमा पक्की प्याराफिट नभएपछि बाँसको प्याराफिट निर्माण गर्नुपरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । मैदानको माथिल्लो भागमा माटोको प्याराफिट भए पनि तीनतिरको भागमा बर्सेनि बाँसको प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ । श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ ।

जसका कारण हरेक वर्ष प्याराफिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ । यसवर्ष ८ लाख रुपैयाँ खर्चेर प्याराफिट निर्माण गरिँदै छ । २ हजार घना बाँस आवश्यक पर्ने प्याराफिट निर्माणमा बर्सेनि लाखौँ खर्चिंदै आएको छ । विगतका ३ वर्षमा बाँसको प्याराफिट निर्माणमा मात्र २५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

प्रतियोगिता सकिएपछि लाखौँ खर्चेर किनेको बाँस कौडीको मूल्यमा बेच्ने गरेको आयोजकको भनाइ छ । यस संस्करणमा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले यमाहाको १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ०७१ सालदेखि सुरु गरिएको माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता हो ।

प्रतिक्रिया