सुशील कोइराला फाउन्डेसन र एनआरएनएबीच सम्झौता

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेसनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउन्डेसनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो ।

एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  फाउन्डेसनका सदस्य सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउन्डेसनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए ।

फाउन्डेसनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । ०७३ असोज २३ मा स्थापना भएको फाउन्डेसनले यसअघि मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित कार्यक्रमका विजेता खेलाडीलाई पुरस्कार, काठमाडौं विश्वविद्यालयमा इन्टरकलेज फुटबल प्रतियोगिता, प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर प्रतियोगिता, विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायतका सामाजिक कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

प्रतिक्रिया