२ वैशाखबाट विद्यार्थी भर्ना अभियान

अप्सरा गौतम
काठमाडौं । सरकारले आगामी २ वैशाखबाट विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्दै छ । शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने योजनासहित शिक्षा मन्त्रालयले वैशाखको पहिलो साताबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सुरु गर्न लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले विद्यालयको पहुँच बाहिर रहेका प्रत्येक बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताएका छन् ।‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ शैक्षिक अभियानलाई व्यावहारिक तथा उपलब्धिमूलक बनाइने उनले बताए । मन्त्री पोखरेलले भने, ‘प्रत्येक बालबालिकाको भर्ना गर्नु मेरो दायित्व हो । यो वर्ष फरक धारमा विद्यार्थी भर्ना अभियान सञ्चालन हुनेछ । प्रत्येक बालबालिकाको आधारभूत तहको शिक्षाको सुनिश्चिता गर्ने लक्ष्य लिएको छु ।’

शुक्रबार मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वैशाखमा कर्णाली पुगी एक विद्यार्थीलाई भर्ना गर्नुका साथै पाठ्यपूस्तक वितरण गर्ने कार्यक्रम तय भएको बताए । मन्त्रालयले नयाँ शैक्षिक सत्र ०७५ का लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारासहित शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । मन्त्रालयले आगामी शैक्षिक सत्रमा राज्यका विशिष्ट व्यक्तिबाट पाठ्यक्रम वितरणसहित नयाँ भर्ना अभियानको सुरुआत गर्नेछ ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पहिलो साताभित्र सबै बालबालिकाको हातहातमा पुस्तक पु¥याउने बताए । महानिर्देशक पौडेलले भने, ‘प्रभावकारी ढंगबाट भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने छौँ । पहिलो र दोस्रो सातामा पाठ्यपुस्तक नपाएका बालबालिकालाई वैशाखको तेस्रो साता घरदैलो अभियानमार्फत पाठ्यपुस्तक वितरण गरिनेछ ।’

मन्त्रालयले निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि आर्थिक वर्ष ०७३÷७४ मा विनियोजित बजेटको २ अर्ब २२ करोड २२ लाख रुपैयाँ छुट्याएको छ । पाठ्यपुस्तक वितरणका लागि स्थानीय तहसम्म रकम पुगिसकेको छ । यो वर्ष मन्त्रालयले विद्यालय शिक्षाको पहुँच बाहिर रहेका करिब साढे तीन लाख बालबालिकालाई पहुँचमा ल्याउने योजना बनाएको छ । शिक्षा विभागको तथ्यांकअनुसार हाल देशभर ३ लाख १३ हजार २ सय ८९ बालबालिका आधारभूत तहसम्मको विद्यालय शिक्षाको पहुँच बाहिर छन् ।

विशेषतः तराईका बारा, पर्सा कपिलवस्तु, रौतहटलगायत पाँच जिल्लाका धेरै बालबालिका आधारभूत तहको विद्यालय शिक्षाबाट वञ्चित रहेका छन् । नयाँ शैक्षिक सत्रमा तिनै बालबालिकालाई विद्यालय पठाउने योजना अनुरूप मन्त्रालय तथा विभागले भर्ना अभियानलाई प्राथकिताका साथ सञ्चालन गर्ने भएको छ । गरिब तथा विपन्न वर्गका बालबालिकालाई न्यूनतम स्टेसनरी तथा पोसाकको व्यवस्था गरिएको छ । विद्यालयको पठनपाठन सुरु भएको ६ महिनासम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने अवस्था सिर्जना हुन नदिन छपाइको प्रक्रियालाई तीव्र बनाउँदै वितरणलाई प्रभावकारी बनाउन मुद्रक तथा बिक्रेताका बीच समन्वय गरिएको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया