एन्फाका पूर्वअध्यक्ष थापा खेलमै सक्रिय रहने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा पुनः खेलकुदमै सक्रिय हुने भएका छन् । सोमबार पत्रकारसम्मेलन गर्दै पूर्वफुटबलर थापाले आफू नेपाली फुटबलका साथै खेलकुद बिग्रेको टुलुटुलु हेरेर बस्न नसक्ने’ बताएका छन् । उनले पत्रकार सम्मेलनमार्फत ‘नेपाल स्पोर्टस् अर्गनाइजेसन’ नामक खेलकुद संस्था सुरु गर्न लागेको जनाएका छन् ।

पूर्वअध्यक्ष थापाले आफू ३५ वर्षसम्म संलग्न रहेको खेलकुद बिग्रेको हेरेर बस्न नसक्ने र खेलकुदमा जीवनभर नै सक्रिय रहने उद्देश्यले काम गर्न लागेको बताएका छन् । त्यसैले नयाँ खेल संस्था दर्ता गरिसकेको थापाले स्पष्ट पारे । थापाले खेलकुदबाट टाढा बस्न नसकेरै खेलकुद संस्था खडा गरेको जिकिर गरे । सो अवसरमा थापाले फिफाको १० वर्षे कारबाही भए पनि फिफाले आफूलाई बोल्नै नहुने गरी बन्देज नलगाएको समेत बताए ।

साथै, थापाले आफूलाई ५८ करोड रुपैयाँको भ्रष्टाचार गरेको आरोप लगाउनेहरूले ५८ रुपैयाँ मात्रै खाएको प्रमाणित गरे पनि कारबाही भोग्न तयार रहेको बताए । उनले आफू बाँचुन्जेल फुटबलबाट टाढा रहन नसक्ने भन्दै फेरि फुटबलमा फर्कन सक्ने संकेत गरे । थापाले नेपाल स्पोर्टस् अर्गनाइजेसनले खेलकुदका एकल प्रतिस्पर्धाका खेलाडीलाई प्रोत्साहन, सम्मान तथा प्रतियोगिताहरू आयोजना गर्ने जानकारी दिए । पहिलो चरणमा ३ महिनाभित्र राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया