जनकपुरको सौन्दर्य बढाउन २ अर्बको सम्झौता

प्रमोदकुमार साह
जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम उपमाहानगपालिकाबीच दुई अर्बको सम्झौता भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा सामेल भएका नयाँ वडाका सडक, नालालगायत नगरमा डिलक्स शौचालय, पोखरी सौन्दर्यीकरण, पार्क निमार्णका लागि खानपानी तथा सरसफाइ मन्त्रालयसँग सम्झौता गरिएको जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

जनकपुरधाम सहलगानी ड्रेनेज आयोजना र जनकपुरधाम सहलगानी सरसफाइ तथा पोखरी संवद्र्धन आयोजना गरी दुई योजनाका लागि दुई अर्बको सम्झौता गरिएको छ । जसअन्तर्गत नेपाल सरकारले लागत बजेटमा ८५ प्रतिशत दिने भएको छ भने १५ प्रतिशत टिडिएफमा लोनमार्फत लिने भएको जनकपुरधाम उपमाहानगरपालिकाका कार्यकारी अधिकृतले जनाएका छन् । उक्त योजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए ।

यी दुई योजनाअन्तर्गत एडिबी परियोजनाबाहेक ५५ किलोमिटर सडकलाई कालोपत्रे तथा नाला निर्माण गरिने, नगरको सय ठाउँमा सुविधासम्पन्न डिलक्स बाथरुम बनाइने, सरसफाइ, ड्रेनेज, पोखरी सौन्दर्यीकरण, सोलार लाइट, फाउन्टेन, पार्क, ठाउँठाउँमा पर्यटकका लागि डिस्प्ले बोर्डहरू लगाइने भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी दिएका छन् ।

यसलगायत जनकपुरधामलाई वल्र्ड हेरिटेजमा राख्नका लागि पहल गरिएको र युनेस्कोको कन्ट्री म्यानेजरले पनि नयाँ सालमा आफू आउने र स्थानीय तहमा वातावरण तयार गरिएको नेपालको पाँचाँै वल्र्ड हेरिटेज क्षेत्रको रूपमा जनकपुरधामलाई राखिने प्रतिबद्धता दिएको मेयर साहले खुलासा गरे । यता, निर्वतमान खानेपानी मन्त्री महेन्द्र यादवले उक्त योजना ल्याएको हो कि होइन भन्ने प्रश्नमा मेयर साहले यस योजनाका लागि १० माघमा नै खानेपानी मन्त्री यादवलाई जनकपुरका विकासे योजना बुझाएको र उनको सहयोगमा नै योजना ल्याउन सफल भएको बताउँदै विकासको योजनामा गलत राजनीति नगर्नसमेत मेयर साहले आग्रह गरे । उनले भने, ‘विकासको मामलामा राजनीतिको गन्ध आउन दिनुहँुदैन, सहयोग गर्ने सबैलाई हामी स्वागत गर्न तयार छौँ ।’

त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाले नगरमा उठाउँदै आएको सवारीकरलाई १ फागुनदेखि हटाएको छ । सवारीकरमा भइरहेको आतंक र पर्यटकहरूलाई सवारीकरको नाममा भइरहेको सास्तीलाई हटाउनकै लागि नगरको बोर्ड बैठकबाट पास गरी यस्तो निर्णय गरिएको मेयर साहले बताए ।

जनकपुरधाम उपमहानगरपालिकामा उठाइँदै आएको सवारीकरको ठेक्का जम्मा ५३ लाखको रहेको छ । अबदेखि जनकपुरधाम उपमहानगरपालिकामा आउने गाडीहरूलाई कुनै किसिमको सवारीकरले समस्या नगर्ने भएको छ ।

प्रतिक्रिया