दाजुले गरे बिरामी बहिनीको बलात्कारपछि हत्या

सौर्य समाचार
सप्तरी । खड्ग नगरपालिका–९ लालपतामा दाजुले बहिनीको बलात्कार गरी हत्या गरेको तथ्य खुलेको छ । परिवारले मृत्यु भएको ठानी दाहसंस्कार गर्ने वेला हजुरबुबाको चलाखीले अस्पताल पु¥याइएपछि भएको अनुसन्धानबाट दाजुले बहीनीको बलात्कार गरी हत्या गरेको तथ्य बाहिर आएको हो ।

प्रहरीकाअनुसार घटना गत २५ माघको हो । लालपता निवासी ११ वर्षीया बालिका सामान्य रुघाखोकीको बिरामी भई आफ्नै कोठामा सुतिरहेकी थिइन् । घरमा परिवारका अन्य सदस्य कोही थिएनन् । नातामा दाजुपर्ने राजदेव मण्डल एक्कासि उनी सुतिरहेको कोठामा प्रवेश गरे । बालिका ब्ल्यांकेट ओढेर सुतेकी थिइन् । मण्डलले ब्ल्यांकेट निकाले, बहिनीको कपडा खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजे ।

बिरामी अवस्थामा रहेकी बालिकाले दाजुको त्यो हर्कत रोक्न हदैसम्मको प्रयास गरिन् । तर, आफूभन्दा ७ वर्ष जेठो दाजुसामु उनको केही चलेन । उनी दाजुबाटै यौनको सिकार भइन् । दाजुले बलात्कारगर्दा उनको गुप्तांग दुख्यो, उनी रुँदै चिच्याउन थालिन् ।  बिरामी बहिनीलाई बलात्कार गरेका मण्डललाई लाग्यो, अब फसिन्छ । उनले धम्क्याए तैपनि बालिका चिच्याउन छाडिनन् ।

जोडले चिच्चाउन थालेपछि राजदेवले उनकै कुर्ताको तुनाले घाँटीमा पासो लगाइदिए । उनी केहीबेर खुट्टा तन्काउँदै छटपटिइन्, अनि चिच्याउन छाडिन् । राजदेवलाई लाग्यो, अब मरिन् । उनी कोठाबाट बाहिर निस्किए । बिरामी भएर सुतेकी बालिकाले कुनै हलचल नगरेपछि परिवारका सदस्यले स्थानीय स्वास्थ्य संस्थामा पु¥याए । स्वास्थ्य संस्थाले बालिकाको मृत्यु भइसकेको बतायो ।

सामान्य रुघाखोकीबाटै उनको ज्यान गयो भन्दै परिवारका सदस्यले उनको अन्तिम संस्कार गर्ने तयारी सुरु गरे । सबैले माया गर्ने बालिकाको मृत्युले हजुरबुवालाई साह्रै पीडा दियो, उनी रुँदै अनुहारदेखि पैलातासम्म हेर्न थाले । त्यहीवेला हजुरबुबाले उनको हात समात्न पुगे । उनको हात तातो थियो । त्यसपछि केही आशाको किरणसहित परिवारका सदस्यले तत्कालै लहानस्थित अस्पताल पु¥याए ।

अस्पतालसम्म बलत्कारी राजदेवसमेत गए । चेकजाँचको क्रममा सो अस्पतालका चिकित्सकले उनको घाँटीमा नीलडाम देखे । अनि मृतक बालिकाको करणीसमेत भएको आसय व्यक्त गरे । चिकित्सकको त्यो जनाउपछि प्रहरीले तत्कालै अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा २८ माघमा प्रहरीले राजदेवलाई सोधपुछका लागि पक्राउ ग¥यो । सुरुमा केही नखुलाएका राजदेव लामो समय प्रहरीसामु टिक्न सकेनन् ।

उनले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरे । राजदेवले हत्या लुकाउन हदैसम्मको प्रयास नगरेका भने होइनन् । बलात्कारपछि हत्या गरेका राजदेवले आफूतिर शंका नहोस् भनेर बालिकालाई अस्पताल लैजानसम्म सहयोगसमेत गरे । ‘सुरुमा त बालिकाको परिवारले बिरामी भएर केही भएको हुनसक्ने आँकलन गरेका थिए । तर, अनुसन्धानका क्रममा जवर्जस्ती करणीपछि हत्या भएको खुल्यो,’ शुक्रबार अभियुक्त सार्वजनिक गर्दै सप्तरीका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंहले भने । अभियुक्तले प्रहरीलाई दिएको वयानअनुसार राजदेव बलात्कारपछि भाग्न खोजेका थिए । तर, बालिका चिच्याएपछि आफू फसिन्छ भनेर घाँटी थिचेर हत्या गरेका थिए ।

प्रतिक्रिया