भारतीय विदेशमन्त्रीसँग सहयोग माग्दै मल्लिका


मुम्बई । केही समयअघि ब्वाइफ्रेन्ड टाट पल्टिएपछि फ्ल्याटको भाडा तिर्न नसकेको समाचार बाहिरिएपछि बलिउड अभिनेत्री मल्लिका सेरावत चर्चाको पात्र बनेकी थिइन् । यसबारे भने उनले खण्डन गरिसकेकी छन् । अहिले उनी बच्चाको मानव तस्करी र यौनशोषणका विरुद्ध लडिरहेको एउटा गैरसरकारी संस्था ‘फ्रि अ गर्ल इन्डिया’सँग सहकार्य गरिरहेकी छन् ।

यसका लागि मल्लिकाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सहयोगको अपिल गरेकी छन् । उनले ट्विटरमा भनेकी छन्, ‘कृपया फ्री अ गर्ल एनजिओको सहसंस्थापकलाई सहयोग गरिदिनुहोला । जसलाई भिसा दिन भारतीय दूतावासले अस्वीकार गरिरहेको छ ।’ ‘फ्री अ गर्ल’ आन्दोलनकी सहसंस्थापक डच नागरिक एबलिएन होल्स्केनलाई भारतीय दूतावासले थुप्रैपटक भिसा दिन अस्वीकार गरेको छ ।

उनको एनजिओले भारतमा बालतस्करीविरुद्ध र महिला कल्याणको क्षेत्रमा काम गरिरहेको छ । मल्लिका ‘स्कुल फर जस्टिस’की ब्रान्ड एम्बेसडर हुन् । जसको पहल त्यही एनजिओले गरिरहेको छ । यसले वेश्यालयबाट जोगाएर ल्याइएका महिलाको शिक्षा र तालिमको व्यवस्था गर्ने गर्छ । यसले ती महिलाहरूलाई वकिल बनाएर न्यायिक व्यवस्थाभित्र काम गर्न सक्षम बनाउने काम गरिरहेको छ ।

उनले भनेकी छन्, ‘म यो मुद्दामा निकै संवेदनशील छु । चाहन्छु, सरकारले यो एनजिओकी सहसंस्थापकलाई भारतको भिसा उपलब्ध गराएर सहयोग गरोस् ।’ भारतमा हुने बालतस्करीको विषयमा निर्माण भएको ‘इन्डियाज एकिलिज हिल’ डकुमेन्ट्रीमा मल्लिकाले काम गरेकी छन्, जुन ‘फ्री अ गर्ल मुभमेन्ट’का भोलेन्टियरले निर्माण गरेका थिए ।

 

प्रतिक्रिया