शिक्षामा सुधार ल्याउन विद्युतीय हाजिर

सौर्य समाचार
सल्यान । सरकारी विद्यालयमा हुने पठनपाठनमा शिक्षकको अनियमितताका कारण विद्यार्थीहरूको संख्या दिनप्रतिदिन घट्दै गएको गुनासो आइरहेका वेला जिल्लाको एक गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी प्रणाली जडान गर्ने भएको छ ।

सरकारी विद्यालयको पठनपाठनमा सुधार ल्याउने उद्देश्यले कपुरकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा विद्युतीय हाजिरी प्रणाली जडान गरिने भएको हो । कपुरकोट गाउँपालिकाको सहयोगमा विद्यालयमा सो प्रणाली सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बताए ।

उनले भने, ‘सरकारी विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले विद्युतीय हाजिरी प्रणाली जडान गर्न लागेका हौँ’, उनले थपे, ‘यसो गरेमा शिक्षकहरू पनि नियमित विद्यालय आउँछन् र पठनपाठनमा सुधार ल्याई विद्यालयबाट घट्दै गएको विद्यार्थीको संख्या पनि रोक्न सकिन्छ ।’

आंँठाले छोएको आधारमा विद्युतीय मेसिनबाट हुने हाजिरमा शिक्षकहरू आए गएको समय पनि देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने उनको विश्वास छ । उनले भने, ‘यो प्रविधि जडान भएमा शिक्षक नियमित उपस्थित नहुने, समयमा नआउने जस्ता समस्या बिस्तारै सुधार हुने हाम्रो अपेक्षा छ ।’

अहिले सरकारी विद्यालयमा हुने पठनपाठन गुणस्तरीय नभएको भन्दै जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिका निजी विद्यालयमा पढ्ने गरेका छन् उनले भने, ‘हामीले गाँउपालिकाभित्रका विद्यार्थीलाई पुनः सरकारी विद्यालयबाट पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने सोचका साथ यो कदम उठाएका हौँ ।’ शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न तथा शिक्षकलाई कार्यप्रति जवाफदेही बनाउन विद्युतीय हाजिर प्रणाली प्रभावकारी हुने गाउँपालिकाको दाबी रहेको छ ।

सोमबार बसेकोे कपुरकोट गाउँकार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । साथै यही ८ फागुनदेखि कपुरकोट गाउँपालिकाका सबै वडाहरूमा जनप्रतिनिधि र नागरिकको बीचमा वहस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जानकारी दिए । यस्तै गाउँपालिकाले गत पुसमा बाँकेमा आयोजित दोस्रो जुनियर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत १५ सयमिटरको दौडमा प्रथम हुन सफल छात्रा चन्द्रा घर्तीलाई सम्मान गर्ने भएको छ ।

नेरामावि किमुचौरमा कक्षा ६ मा अध्यनरत छात्रा घर्तीले खेलकुदमार्फत गाउँपालिकाको गरिमालाइ उच्च बनाएको भन्दै नगद २५ हजारसहित सम्मान गर्ने भएको सूचना अधिकारी केसीले बताए । बैठकले गाउँपालिकाका प्रत्येक वडामा मेलमिलाप समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा वडाध्यक्ष, एक महिला सदस्य र एक जना अन्य सदस्य रहने भएका छन् ।

 

प्रतिक्रिया