बिहेपछि अनुष्काको पहिलो फिल्मी तस्बिर

एजेन्सी   मुम्बई । गत डिसेम्बरमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः चलचित्र क्षेत्रमा फर्किने तयारीमा छिन् ।  विवाहपछिको उनको चलचित्रको पहिलो तस्बिर सोमबार सार्वजनिक भएको छ । उनी यतिवेला चलचित्र ‘सुई धागा’को सुटिङमा व्यस्त छिन् । यशराजको ब्यानरमा बन्न लागेको यो चलचित्रमा वरुण धवनको जोडीका रूपमा अनुष्का देखिँदै छिन् ।

यस चलचित्रको पहिलो तस्बिर सार्वजनिक गर्ने क्रममा यी दुवै कलाकार भिन्न रूपमा देखिएका छन् ।  सामान्य सर्ट–पेन्ट र जुँगामा वरुण देखिएका छन् । चलचित्रमा वरुण मौजी र अनुष्का ममताको भूमिकामा देखिएका छन् । अनुष्काले साडी पहिरिएकी छन् भने उनी गाउँले बुहारी झैँ देखिएकी छन् । उनले टाउकोमा मौजीको नामको सिन्दुर पनि लगाएकी छन् । मनीष शर्माको पटकथा रहेको ‘सुई धागा’को निर्देशन शरत कटारियाले गर्दै छन् । ‘सुई धागा–मेड इन इन्डिया’ आत्मनिर्भरतामा आधारित कहानी हो ।

अनुष्का अहिले ‘सुई धागा’ मात्र होइन, आफ्नो प्रोडक्सन हाउसले निर्माण गरेको ‘परी’ चलचित्रको प्रमोसनमा समेत व्यस्त छिन् । उनी शाहरूख र कैटरिना कैफसँग ‘जिरो’ चलचित्रको सुटिङमा पनि व्यस्त छिन् । त्यस्तै, वरुण पनि आफ्नो आगामी चलचित्र ‘अक्टुबर’ को प्रमोसन सुरु गर्ने तयारीमा छन् । यो चलचित्र २७ सेप्टेम्बरमा रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया