अन्तर्राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

पटिहानी (चितवन) । सशस्त्र प्रहरी बलको एपिएफ क्लब चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयरकप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा च्याम्पियन भएको छ । मंगलबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी टिम शिवम् न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले २ हप्ताअगाडिको फाइनलमा व्यहोरेको हारको बदलासमेत लियो ।

एपिएफले पहिलो सेट प्रतिस्पर्धात्मक २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने २५–१६ ले सहजै आफ्नो पक्षमा पार्दै एपिएफ न्यु डायमण्डविरुद्ध उपाधिनजिक पुगेको थियो । तर, तेस्रो सेट पनि २५–२१ ले एपिएफले आफ्नो पक्षमा पारेपछि उपाधिमाथिको दबदबा कायमै राख्यो ।विजेता एपिएफले २ लाख र न्यु डायमण्डले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।

नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पार्न सफल भयो । नेपाल आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा हराउँदै पुलिसले तेस्रो स्थान आफ्नो बनायो । पुलिसले ५० हजार र सान्त्वना स्थान हासिल गरेको आर्मीले २५ हजार नगद पुरस्कार जित्यो । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद १० हजार पुरस्कार पाइन् । विधागत उत्कृष्टअन्तर्गत न्यु डामयण्डकी प्रतिभा मालीले स्पाइकर र डायमण्डकै कृपा अधिकारीले सर्भरको उपाधि जिते ।


पुलिसकी कमला पुन बेस्ट सेटर, एपिएफकी उषा विष्ट बेस्ट ब्लकर, एपिएफकी मनीषा तामाङ बेस्ट डिफेन्डर र आर्मीकी निरुता ठगुन्ना नवप्रतिभाशाली खेलाडीका रूपमा पुरस्कृत भए । विधागत उत्कृष्ट सबैले जनही नगद ५ हजार पुरस्कार पाए ।

विजेतालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुरस्कृत गरे । भरतपुर महानगरपालिका–२२ को आयोजनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशको इफ्टा र भारतको हरियाणा पुलिस क्लबसहित ७ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया