आज प्रणय दिवस मनाइँदै

सौर्य समाचार
काठमाडौं । १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरूका लागि आज निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रूपमा लिइन्छ ।

पश्चिमा देशहरूबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवससँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरू पनि छन् । कतिपय तथ्यहरू हामीले नसुनेका पनि हुन सक्छौँ र सुन्दैमा रोचक लाग्छन् ।

नाटककार सेक्सपियरको चर्चित लभस्टोरी रोमियो एन्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डे को दिन हजारौँ चिठीहरू पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनियाँभरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरू आउँछन् ।

भ्यालेन्टाइन डे को दिन विश्वमा औसतमा २ लाख २० हजार मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरूको संख्याको त गणना नै छैन । भ्यालेन्टाइन डे को दिन विश्वमा एक अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षपछि सबैभन्दा बढी कार्ड आदानप्रदान हुने दिन यही हो ।

भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरिदबिक्री हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्री हुन्छन् । भ्यालेन्टाइन डे मा गुलाब खरिद गर्नेमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै, अन्य भ्यालेन्टाइन गिफ्ट खरिद गर्नेमा ८५ प्रतिशत महिला हुन्छन् ।

प्रतिक्रिया