नेपाललाई मुवाँथाईमा २ स्वर्ण

चितवन । तेस्रो इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । चितवनमा आइतबारदेखि सुरू भएको प्रतियोगितामा नेपालका २ खेलाडी गुणराज रूचाल र राहुल थोकरले स्वर्ण जितको नेपाल मुवाथाई संघका अध्यक्ष गणेश कक्षपतिले जानकारी दिए । गुणराज र राहुल दुवै भारतीय खेलाडीको चुनौती निस्तेज पार्दै स्वर्ण जितेको कक्षपतिले बताए । गुणराजले पुरुष ६० केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए ।
पुरुषकै ५८ केजी तौल समूहमा राहुलले भारतका हरिहरणलाई नकआउट गर्दै तेस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक जिते । उनीहरूलाई आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडल प्रदान गरे । महिलाको ६० केजीमा विद्या गुरुङ र प्रमिला तामाङ फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा विद्याले प्रियंका कामताड र प्रमिलाले हिमा थापालाई हराएका थिए । प्रतियोगिता प्रकाश दाहालको स्मृतिमा भएको हो । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया