एपिएफलाई हराउँदै आर्मी सेमिफाइनलमा

-अनिल तिवारी    सिमरा । राष्ट्रिय टोलीका दुई स्टार जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठ चम्केपछि त्रिभुवन आर्मी क्लब नवौँ सिमरा गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । बाराको सिमरा रंगशालामा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि ४–० को रवाफिलो जित निकाल्दै आर्मी अन्तिम ४ मा पुगेको हो । आर्मीको जितका लागि राष्ट्रिय टोलीका जर्जप्रिन्सले २ तथा नवयुगले १ गोल गरे ।

दिनेश हेम्जनले पनि १ गोल थपेपछि आर्मीले सहज जित आत्मसात ग¥यो । खेलको ३६औँ मिनेटमा जर्जप्रिन्सले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । त्यो गोलले नै पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो । दोस्रो हाफमा खेल रोमाञ्चक हुने आशा गरिए पनि आर्मीको आक्रमक शैलीमा एपिएफ निरीह बन्न बाध्य भयो । त्यसक्रममा आर्मीले ३ गोल गर्दा एपिएफले गोल फर्काउन नसकेपछि प्रतियोगिताबाटै बाहिरियो ।

दोस्रो हाफको ४७औँ मिनेटमा नवयुगको गोलपछि एपिएफ थप दबाबमा प¥यो । खेलको ७१औँ मिनेटमा यू–१९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेस्रो गोल थपेपछि एपिएफलाई ठूलो झड्का लागेको थियो । खेलको ७५औँ मिनेटमा एपिएफ ९ खेलाडीमा र आर्मी १० खेलाडीमा सीमित भयो । एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केहिबेर दुवै टिमबीच तनाव सिर्जना भएको थियो ।

फाउलपछि पहेँलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडीसँग झगडा गर्न गएपछि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए ।सोही क्रममा विवाद गर्दा रञ्जनकै भाइ अन्जन पनि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरीए । सो विवादमा आर्मीका नवयुग पनि रातो कार्ड पाएर मैदानबाट बाहिरीएपछि आर्मी पनि १० खेलाडीमा सीमित भएको थियो ।  एपिएफका २ स्टार नभएको फाइदा लिँदै आर्मीका जर्जप्रिन्सले खेलको ८२ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ४–० को रवाफिलो जित दिलाए । जर्जप्रिन्स नै म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा सोमबार महत्वपूर्ण खेलाडी एवं कप्तान विक्रम लामा बिनाको रूस्लान थ्री–स्टार क्लब र सुदूर पश्चिम–११ स्पोर्टस् क्लब धनगढीबीच खेल हुनेछ ।

प्रतिक्रिया