लालुपाते सहकारीको ५ करोड बढीको कारोबार

हरिबोल आचार्य
खोटाङ,  । दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको दोस्रो वर्षमै ५ करोड बढीको कारोबार गरेको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ १० मंसिर ०७२ देखि सेवा सुरु गरेको सहकारीले अहिलेसम्ममा सवा ५ करोड बढीको आर्थिक कारोबार गरेको हो ।

शनिबार दिक्तेलमा आयोजित प्रथम वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष अनिल जोशीले स्थापनादेखि हालसम्म साँढे ३ करोड निक्षेप संकलन गरेको, ३० लाख शेयर संकलन भएको, ८३ लाख राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएको बताए । अध्यक्ष जोशीका अनुसार सहकारीले सामुहिक जमानी कर्जा र धितो कर्जा÷व्यवसायीक कर्जातर्फ ४ करोड २५ लाख कर्जा प्रवाह गरेको छ ।

हालसम्म २ लाख ५० हजार मुनाफा कमाएको सहकारीले जनाएको छ । जिल्लामा हालसम्म वित्तीय कारोबार सम्बन्धीका मात्र सेवा प्रवाह गर्दै आएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पसल, उत्पादनशील क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर स्थापना भएको हो ।

सहकारीको साधारणसभा प्रदेशसभा सदस्य राजन राईले गमलामा पानी हालेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमका वक्ताहरूले लालुपाते सहकारीले छोटो समयमै राम्रो काम गरेको र आगामी दिनमा अझ प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया