बैंकर्स संघमा ढुंगाना निर्विरोध


काठमाडौं, २१ पुस । नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना निर्विरोध चयन भएका छन् । बिहीबार साँझ हुने विशेष साधारणसभाले ढुंगानालाई अनुमोदन गरेको हो ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउने समयको अन्तिम समयसम्म पनि ढुंगानाबाहेक कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । हाल संघको उपाध्यक्ष रहेका ढुंगाना अध्यक्ष अनिल केशरी शाह मेगा बैंकबाट बाहिरिएपछि कार्यवाहक अध्यक्षको भूमिकामा थिए ।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिलकेशरी शाहले संघको अध्यक्ष पदमा चयन भएका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई बधाई दिएका छन् । ‘बैंक, बिमा र सेयर बजार’ नामक सामाजिक सञ्जालको समूहमा सन्देश लेख्दै शाहले ढुंगानालाई बधाई दिएका हुन् । संघले राम्रो अध्यक्ष पाएको भन्दै उनले आगामी दिनमा बैंकिङ क्षेत्र र संघको सफल नेतृत्व गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

२ मंसिरमा अध्यक्षमा पुनः निर्वाचित भएका शाह कुनै पनि बैंकमा कार्यरत नरहेपछि अध्यक्ष पद रिक्त भएको थियो । सेलिब्रेटी बैंकर भनेर चिनिने शाह बाफियाको बाध्यकारी व्यवस्थाका कारण मेगा बैंक छोडेका थिए । सोही ग्रुपमार्फत लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष धर्मराज पाण्डे तथा नेपाल राष्ट्र बैंकका सह–निर्देशक भागवत आचार्यले समेत ढुंगानालाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया