टेलिकमको कार्यालयमा सेवाग्राहीले गरे तालाबन्दी

तिवारी यादव
वीरगञ्ज ,२० पुस । वीरगञ्जको घण्टाघरमा रहेको नेपाल टेलिकमको कार्यालयमा सेवाग्राहीहरुले १२ बजे तालाबन्दी गरेका छन् ।

नेपाल टेलिकममा रहेका कर्मचारीहरुले आफनो व्यक्तिगत कामको कारण देखाई कार्यालयमा नआएको कारण कार्यालय प्रमुख घनश्याम महासेठको कक्षमा तालाबन्दी गरेका हुन् ।

कार्य गर्ने समयमा कर्मचारीहरु कार्यालय प्रमुखको कक्षमा कुराकानी गरेर व्यस्त रहेको हुदाँ सेवाग्राहीहरुलाई समस्या हुने गरेको छ ।कार्यालय समयमा कार्यालय खोलेर काम नगरी मनोमानी तरीकाले बाहिर हिड्ने हुँदा सेवाग्राहीहरुले गुनासो गरेका हुन् ।

कर्मचारीहरु कार्यालयमा आउने तर काम नगरी गफमा व्यस्त रहने हुँदा समस्या भएको वीरगञ्ज गहवाका सेवाग्राही बिशाल श्रेष्ठले गुनासो गरे ।

त्यस्तै घण्टाघरमा रहेको कार्यालयमा सेवाग्राहीहरुलाई दुख दिने गरेको श्रीपुरका गोबिन्द नेपालले पनि गुनासो पोखे । उनले भने,‘छठको बेला देखि मेरो घरको फोन बिग्रेको छ ।

सँधै आएर कार्यालयमा भन्दा आज हुन्छ/भोली हुन्छ भनेर फर्काउने गरेका छन् त्यसैले धेरै समस्या भएको छ ।’ यस्ता समस्या उत्पन्न भएकाले सम्पुर्ण सेवाग्राहीहरुले मिलेर तालाबन्दी गरेको उनले बताए ।

प्रतिक्रिया