दाउपेचमा एमाले–माओवादी एकता

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गृहकार्य अन्तिम चरणमा पुग्नै लाग्दा पहिलो पुस्ता र दोस्रो पुस्ताका नेताबीच नै द्वन्द्ध देखिएको छ । दुवै दलका दोस्रो तहका नेताहरू पार्टी एकतालाई आफ्नो भविष्यसँग जोड्दै अभियान चलाएपछि शीर्ष नेता र युवा पुस्ताबीचको द्वन्द्व बाहिर आएको हो ।

स्रोतका अनुसार दुवै दलका युवा पुस्ताले एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायतका शीर्ष नेताले सक्रिय राजनीतिबाट संन्यास लिनुपर्ने अभियान चलाइएको हो । दुवै दलका युवा पुस्ताका नेताहरू पछिल्लो समय शीर्ष नेतालाई बिदा गरी आफूहरूलाई स्थान छाड्नुपर्ने अभियानमा लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकताविरुद्ध चलखेल बढेको निष्कर्षसहित गोप्य वार्ता जारी राखेपछि युवा पुस्ताले पनि काउन्टर दिन थालेको हो । दुवै दलका युवा नेताहरूले केही दिनयता गोप्य भेटवार्ता गर्दै यस्तो अभियान चलाएका हुन् । सोही अभियानबारे जानकारी पाएका एमाले सचिव योगेश भट्टराईले आइतबार दुवै दलका शीर्ष नेताले पार्टी एकतासँगै सक्रिय राजनीति त्याग्नुपर्ने प्रस्तावलाई बाहिर ल्याए ।

‘पार्टी एकतासँगै केपी ओली र प्रचण्डले सक्रिय राजनीतिबाट संन्यास लिएको घोषणा गर्नुपर्छ, वाम गठबन्धन बनाएर उहाँहरूले ९० प्रतिशत अंक ल्याउनुभएको छ, एकतासँगै फुलमार्क पाउनुहुन्छ, फुलमार्क पाइसकेपछि सक्रिय नेतृत्व छाडेर संन्यास लिँदा हुन्छ,’ भट्टराईले भने, ‘केपी ओली र प्रचण्डले साँच्चीकै स्टेटम्यानसिप देखाउने हो भने पार्टी एकता घोषणा गरेको दिन उहाँहरूले संन्यास लिए हुन्छ, उहाँहरू नेल्शन मण्डेला बन्नुपर्छ, अब त्यहाँभन्दा माथि चढ्ने ठाउँ हुन्न, पूर्णांक ल्याइसकेपछि फेरि प्रधानमन्त्री हुन आउनु, फेरि पार्टी अध्यक्ष हुन खोज्नु भनेको त्यो ठाउँबाट तल झर्नु हो, फेरि परीक्षा दिनु हो, जुन परीक्षामा पूर्णांक होइन, ८०/९० अंक मात्रै आउन सक्छ ।’

दुई पटक राष्ट्रपति भइसकेका मण्डेलालाई तेस्रो कार्यकालका लागि नेतृत्व गर्न संसद् र जनताले दबाब दिँदा अस्वीकार गरेकै कारण विश्वका महाशक्ति राष्ट्र प्रमुख शव यात्रामा सरिक भएको भन्दै ओली र दाहाल सहितका नेपाली कम्युनिस्ट आन्दोलनका नेतालाई मण्डेला जस्तै बन्ने सुनौलो मौका आएको बताए । ‘ओली र दाहाल मात्रै होइन, दुवै पार्टीका अघिल्लो पुस्ताले पार्टी एकताकै क्षण हामी आजबाटै सक्रिय राजनीति बिदा भयौँ भन्यो भने केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमका सालिक त देशभर २४ घण्टामा कति बन्छ बन्छ,’ भट्टराईले भने । उनले पहिलो पुस्ताले यो काम गरे दुनियाँभरका नेताहरू नेपालका कम्युनिस्ट पार्टीका नेताबाट अनुशरण गर्न बाध्य हुने तर्क गरे ।

देउवा ज्ञानेन्द्रभन्दा तानाशाह
भट्टराईले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा पनि तानाशाहको संज्ञा दिए । संविधानसभाले सिंहासन खाली गरेभन्दा पूर्वराजाले विनासंकोच सिंहासन त्यागेको तर देउवाले जनमतले सत्ता छाड् भन्दा पनि अस्वीकार गरेको भट्टराईको भनाइ थियो । ‘संविधानसभाले गद्दी छाड भनेर आदेश दियो, दुनियाँमा कहीँ नभएको घटना नेपालमा भयो, आफँै प्रधानमन्त्री सम्हालेका राजाले खुरुक्क छाडे, नेपालको राजाले पनि जनताको आदेश माने, अरू देशमा राजाले यति सहजै गद्दी त्यागेको इतिहास छैन, त्यो नेपालमै सम्भव भयो,’ भट्टराईले भने, ‘तर जनताले सत्ताबाट हट भनेर चुनाव हराउँदासमेत देउवाले सत्ता छाड्न मानेनन्, उनी ज्ञानेन्द्रभन्दा तानाशाह देखिए । योभन्दा लाजमर्दाे विषय अरू हुनै सक्दैन ।’

नेपाली टोपी लगाएर विदेशीको काम
एमाले सचिव भट्टराईले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव नेपालको संविधान र नेपाली जनताभन्दा बाहिरबाट निर्देशित भइरहेको आरोपसमेत लगाए । भट्टराईकै शब्दमा प्रमुख आयुक्त यादव नेपाली टोपी लगाएर विदेशीको काम गरिरहेका छन् । कुनै देशको नाम नलिई भट्टराईले भने, ‘निर्वाचन आयोगको नेतृत्व नेपाली टोपी लगाएर अन्तैको काम गरिरहेका छन्, हामी समय छँदै सचेत गराउन चाहन्छौँ, नेपाली टोपी लगाएर अन्तको काम नगर, संविधान र राजनीतिक प्रणालीअनुसार चल ।’ उनले निर्वाचन आयोगले जनमतकै अपमान गरिरहेको आरोपसमेत लगाए ।

राजसंस्था जस्तै बन्छ कांग्रेस
भट्टराईले नेपाली कांग्रेसको छटपटी सत्तामा रहने अन्तिम तानाशाह जस्तै भएको दाबी गरे । ‘प्रधानमन्त्रीमा देखिएको छटपटी स्वाभाविक हो, देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री हुन्, अब हाम्रो पुस्ता बाँचुन्जेलसम्म कांग्रेसले सत्ताको नेतृत्व पाउँदैन, सत्ताबाट जाने वेला सबैमा यस्तै छटपटी हुन्छ, देउवामा त्यही छटपटाहट हो,’ भट्टराईले भने ।

प्रतिक्रिया