सभापतिले राजीनामा दिने प्रचलन छैन: देउवा

सौर्य समचार
काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । भर्खरै सम्पन्न तीन तहको निर्वाचनमा कांग्रेसले लजास्पद पराजय भोगेपछि पार्टीभित्रै राजीनामाका लागि दबाब परिरहेका वेला देउवाले स्पष्ट भनाइ राखेका हुन् ।
प्रदेशसभातर्फ समानुपातिक सदस्यको नाम टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकलाई सम्बोधन गर्दै देउवाले पार्टीको इतिहासमा सभापतिले राजीनामा दिने चलन नरहेकाले आपूmले पनि नदिने स्पष्ट पारेका हुन् । ‘कांग्रेसमा सभापतिले राजीनामा दिने प्रचलन अहिलेसम्म छैन, निर्वाचनका विषयलाई लिएर मेरो राजीनामा माग्नुको कुनै अर्थ रहँदैन,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

राजीनामाको विषयले बैठकमा प्रवेश पाएपछि निकै कडा रूपमा प्रस्तुत भएका देउवाले पार्टीका विषयमा बाहिर जथाभावी टीका टिप्पणी गरेकोमा नेताहरूप्रति आक्रोशसमेत पोखेका छन् । ‘पार्टीभित्र हुनुपर्ने छलफल बाहिर सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा गर्दै हिँड्नुहुन्छ । यस्तो काम तत्काल बन्द गर्नुहोस् ।’ देउवाको भनाइ थियो ।

बैठकमा नेताहरूले निर्वाचनमा पार्टीले भोगेको लज्जास्पद पराजयको विषय उठाउँदै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । उनीहरूले निर्वाचनमा भोगेको पराजयको जिम्मेवारी लिँदै देउवाले सभापति पदबाट राजीनामा दिएर पार्टीलाई नयाँ ढंगबाट लैजान सहयोग गर्नुपर्ने धारणा राखेका थिए । यसैगरी, तत्कालै केन्द्रीय समितिको बैठक बोलाउन पनि माग गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे छिट्टै बैठक बोलाएर गम्भीर छलफल गर्ने आश्वासन दिएका छन् । ‘बैठकमा चुनावी समीक्षाबारे सामान्य छलफल भयो, थप छलफलका लागि सभापतिले छिट्टै केन्द्रीय समितिको बैठक बोलाउँछु भन्नुभएको छ ।’ बैठकपछि नेता बालकृष्ण खाँणले जानकारी दिए । पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा लगायतले राजीनामाको कुरा उठाइरहेका छन् ।

प्रतिक्रिया