‘रियो छमछमी सिजन ३’ मा उत्कृष्ट ११ छानिए

काठमाडौं । नेपाल टेलिभिजनको मेघा डान्स कम्पिटिसन रियालिटी सो ‘रियो छमछमी सिजन ३’ को एसएमएस भोटिङ राउन्ड सुरु गरेको छ । नेपाल टेलिभिजनबाट हरेक बुधवार साँझ ८ः४५ मा प्रसारण हुने सो प्रतियोगितामा हरेक हप्ता एसएमएस भोटिङका आधारमा एक जना सहभागी बाहिरिदै जाने छन् ।

एसएमएस भोटिङका लागि छमछमीको भोटिङ बुधवार साँझ ८ः४५ बजेदेखि अर्को आइतबार बिहान १०ः०० बजेसम्म २४सै घण्टा खुला रहेको छ । नेपाल टेलिभिजन र चौधरी ग्रुपको सहकार्यमा प्रसारण भइरहेको रियालिटी सोको उत्कृष्ट ११ मा परेका प्रतियोगीहरू अहिले ‘क्लोज क्याम्प’मा व्यस्त छन् ।

देशभरीबाट २ हजारभन्दा बढी प्रतियोगी सहभागी भएकामध्येबाट छानिएका उत्कृष्ट ११ प्रतियोगीलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइरहेको टेलिभिजनका कार्यक्रम महाशाखा प्रमुख माधव कार्कीले बताए । उनले भने, ‘प्रतियोगीहरू सबै जुझारु छन् । उनीहरूको लगनशीलताले पनि हामीलाई कार्यक्रम गर्न हौसला मिलेको छ ।’

उत्कृष्ट ११ मा पर्न सफल बुटवलका अभिनाश हमाल ठकुरी, काठमाडौंका नेहा तामाङ, रामेछापकी रबिता मगर, सुर्खेतका शेखर घर्तीमगर, विराटनगरका मनिष कटुवाल, झापाकी केविका खत्री र एलेक्स विक, दाङका जीवन बुढाथोकी, कोहलपुरका रोशन विश्वकर्मा, हेटौंडाका सरोज राना प्रजा र धरानकी मनिता राई छन् ।

प्रतियोगिताको बिजेताले डाट्सनको रेडी गो कार पुरस्कार पाउने छन् । दोस्रो हुनेले ५ लाख बराबरको एलजी होम अप्लाइन्स, तेस्रो हुनेले ३ लाखको एलजी होम अप्लाइन्स र उत्कृष्ट १० भित्र पर्ने बाँकी ७ जनाले प्रत्येकले ३२ इञ्चको एलजी स्मार्ट टेलिभिजन पुरस्कार पाउनेछन् । यो रियालिटी सोको बिजेता फागुनको पहिलो सातासम्म टुंगो लाग्नेछ ।

प्रतिक्रिया