फेवा किनारमा सडक महोत्सव

 

गोविन्द सुवेदी    पोखरा । अंग्रेजी नयाँ–नयाँ वर्षको अवसरमा पोखराको फेवा किनारमा हरेक वर्ष अयोजना गरिने सडक महोत्सवको १९ औं संकरण बिहीबारबाट सुरु भएको छ ।  सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाउँ भन्ने मूलनारासहित रेस्टुरेन्ट एण्ड वार एसोसियसन रेवान पोखराले आयोजना गरेको महोत्सवको सांसद रवीन्द्र अधिकारीले एक समारोहबीच उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै अधिकारीले सडक महोत्सव देशभरमै उत्कृष्ट महोत्सवको रूपमा विकास भएको बताए । हिजो पर्यटकका लागि अफसिजन मानिएका वेला यहाँ पर्यटक ल्याउन कसरी सकिन्छ भनेर महोत्सवको उपाय निकालिएको उक्त अवसरमा स्मरण गरे ।

अहिले आन्तरिक तथा बहिय पर्यटकका लागि गन्तव्य महोत्सव बनेको उनको भनाइ थियो । रातको बेला झन्डै ४०÷५० हजार मान्छे रमाउने महोत्सव निकै शान्तिपूर्ण हुने गरेको भन्दै अधिकारीले यस्तो शान्त महोत्सव अरु कुनै मुलुकमा हुनै नसक्ने दावी गरे । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको भन्दै उनले निर्धारित समयमै सम्पन्न हुनेगरी काम थालिएको बताए । उनका अनुसार अहिले सम्म विमानस्थल निर्माणको काम २.६ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

अब पोखरामा हवाई, सडक र रेलमार्गबाट समेत पर्यटक आउने वातावरण बन्दै गरेको उनको भनाई छ । अबको १० वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएको भएपनि ५ वर्षमा अहिले आइरहेका पर्यटको संख्यामा डबल बृद्धि हुने उनको अपेक्षा छ । उद्घाटन समारोहमा कास्कीबाट निर्वाचित प्रदेशसभा सदस्यहरू दीपक कोइराला, कृष्ण थापा, विन्दु थापा, रामजी बराल जीवन र राजीव पहारीले पोखराको विकासमा आफूहरू प्रतिबद्ध भएर लागि पर्ने बताए । उनीहरू फेवातालको संरक्षण, कोराला – सुस्ता सडक निर्माण, लुम्बिनी, काठमाडौं र चितवनसंगको सहकार्य लगायतका विषयमा बोलेका थिए ।

महोत्सवमा आन्तरिकदेखि ब्राह्य पर्यटकको ठूलो भीड लाग्ने आयोजकको अपेक्षा छ । भिड नियन्त्रणको लागि सोहीअनुसार व्यवस्थापन गरिएको छ । महोत्सव अवधिभर सडकमा कुनै किसिमका सवारीसाधन सञ्चालन हुने छैनन् भने ठाउँ ठाउँमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमका साथ कन्सर्टको व्यवस्था समेत मिलाइएको छ ।महोत्सव अवसरमा यहाँका सबै होटल बुकिङ भइसकेका पर्यटन व्यवसायी नरेश भट्टराईले जानकारी दिए । महोत्सवमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा जापान, चीन, कोरिया, भारतका सांस्कृतिक कार्यक्रमहरू मुख्य आकर्षण छन ।

नेपालका सात वटै प्रदेशका सांस्कृतिक कार्यक्रमहरूले ३ किमी क्षेत्रदेखि स्टेजसम्म आफ्नो संस्कृति पस्कने छन् भने प्रदेश नम्बर १ बाट सतार जातिको सांस्कृतिक कार्यक्रम, प्रदेश २ बाट मैथली कार्यक्रम, प्रदेश ३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डँडेलधुराको देउडा जातिको सांस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइनेछ ।

महोत्सवबाट विभिन्न क्षेत्रका व्यवसायीहरू एयरलाइन्स, ट्राभल एजेन्सी, बस, बञ्जीजम्प, प्याराग्लाइडिङ, जिप फ्लायरमा पनि राम्रो कारोबार हुने व्यवसायीको अपेक्षा छ । पोखरामा साइट सिन गर्नेहरूको लागि हेलिकोप्टरको छुट्टै व्यवस्था छ । महोत्सव स्थल पर्यटकीय क्षेत्र लेकसाइडको करिब साढे ३ किलोमिटर क्षेत्रलाई दुलहीझैं सिंगारिएको छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर रेस्टुरेन्ट तथा पसलहरूले सडकबाटै सेवा दिने रेवान अध्यक्ष चौबहादुर गुरुङले बताए ।

कार्यक्रम उद्घाटनको अवसरमा पोखरा लेखनाथ महानगरका प्रमुख मान बहादुर जिसी, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, रेवानको निवर्तमान अध्यक्ष गापीबहादुर भट्टराई र उपाध्यक्ष लक्ष्मण बराल लगायतले बोलेका थिए । महोत्सव उद्घाट अगाडि हल्लनचोकबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू महोत्सवस्थल आएका थिए । सहभागि झाँकीमध्ये क्रमस पुन समाज पोखरा प्रथम, दूधपोखरी तमु समाज दिृतिय, तमु प्ले संघ तृतीय र डुंगा व्यवसायी संगठन सान्त्वना भए । महोत्सव ५ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया