कार्यकर्ता भर्नामैै सीमित पुनर्निर्माण प्राधिकरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असारभित्र करिब ६० प्रतिशत भूकम्पपीडितलाई सुरक्षित आवास गृह बनाउन सक्ने बताएको छ । प्राधिकरण गठनको दुई वर्षमा करिब साढे १० प्रतिशतभन्दा कम अर्थात् ८० हजारले मात्र घर बनाउन सकेको अवस्थामा प्राधिकरणले थप साढे ६ महिनामा ४ लाखलाई सुरक्षित आवास गृहमा सार्ने बताएको हो । प्राधिकरणले भने लाभग्राहीको सूचीमा परेका ७ लाख ६७ हजार ७ सय ५ मध्ये ७९ हजार ५ सय १४ आवास निर्माण सम्पन्न भइसकेको जानकारी दिएको छ । यसैगरी, १ लाख ९४ हजार १ सय ९६ घर निर्माणको चरणमा रहेको बताएको छ ।

साढे ७ लाख लाभग्राही सूचीमा रहेका पीडितमध्ये २६ हजार अर्थात् ४ प्रतिशतभन्दा कमले मात्र हालसम्म घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता पाएका छन् भने अझै ११ प्रतिशतले पहिलो किस्तासमेत पाउन सकेका छैनन् । दुई वर्षे कार्यकालमा पीडितको समस्या समधानभन्दा प्राधिकरण आफ्नै समस्यामा रुमलिँदा सोचेअनुरूपको काम गर्न सकेको छैन । राजनीतिक हस्तक्षेप र प्रमुख कार्यकारी अधिकृतकै कारण प्राधिकरणले पटक–पटक कार्यसूची बनाए पनि सोअनुरूप अगाडि बढ्न नसकेको हो । प्राधिकरणमा दुई वर्षे कार्यकालमा तीन जनाले नेतृत्व लिइसकेका छन् ।

राजनीतिक खिचातानी गर्दै नेतृत्व लिन पुगेका सिइओहरूले पार्टीको निर्देशनअनुसार कार्यकर्ता भर्नामै व्यस्त देखिएका छन् ।आफूलाई सिफारिस गर्ने पार्टीका कार्यकर्तालाई प्राधिकरणका कर्मचारीका रूपमा राख्ने गरेका कारण सोचेअनुरूपको काम गर्न सकेको छैन । यस्तै, सरकारबाट सुरुमा कार्यविधि निर्माण, पीडित पहिचान, प्राविधिक र कर्मचारी परिचालन लगायतमै ढिलाइ गरिएको थियो भने अनुदान र सहुलियत ऋणको व्यवस्था गरिएपछि पनि झन्झटिलो प्रक्रिया तथा सरकारी निकायको सुस्त कार्यपद्धतिका कारण भूकम्पपीडितलाई नयाँ घरमा सर्न ढिलाइ भइरहेको छ । उनीहरू अझै पनि चिसो भुइँमा रात काट्न बाध्य भइरहेका छन् भने वर्षायाम समेत ओत लाग्ने ठाउँ पाउन सकेका छैनन् ।

तर, प्राधिकरणले भने कार्य प्रगति सन्तोसप्रद रहेको दाबी गरेको छ । दुई वर्ष पुगेको उपलक्ष्यमा आयोजित समीक्षा कार्यक्रममा प्राधिकरणले तोकिएको कामको ४६ प्रतिशत काम पूरा गरेको दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले असार मसान्तभित्र ६० प्रतिशत निजी आवासको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए ।‘म आएदेखि लक्ष्यअनुसार नै काम गर्दै गएका छौँ, आगामी असार मसान्तभित्र ६० प्रतिशत पीडितलाई सुरक्षित आवासभित्र सार्ने लक्ष्य छ र पूरा गरिछाड्ने छु,’ सिइओ भुसालले भने ।

त्यस्तै, असार मसान्तलाई तेस्रो किस्ताको रकम लिन पाउने अन्तिम डेटलाइन तोकेर काम गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणका सचिव मधुसुदन अधिकारीले प्राधिकरणलाई निरुत्साहित नगर्न सबैसँग आग्रह गरे । ‘संसारका अरू देशको तुलनामा हाम्रो कार्यप्रगति पनि राम्रो छ । तर, हाम्रो मिडियाले १० प्रतिशत मात्रै काम भयो भन्दा जनता पनि निरुत्साहित र काम गर्ने संयन्त्र पनि निरुत्साहित हुन्छ ।’ अधिकारीको भनाइ छ । अनुदान सम्झौता गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका लाभग्राहीले भूकम्प प्रतिरोधात्मक घरको जग बसाएपछि दोस्रो किस्ता १ लाख पाउँछन् ।

घरको छाना लगाएपछि तेस्रो किस्ता डेढ लाख रुपैयाँ दिइन्छ । ३ किस्तामा गरेर ३ लाख रुपैयाँ अनुदान लिने प्रक्रिया नै झन्झटिलो रहेको भूकम्पपीडितको गुनासो छ । अनुदान सम्झौता भएर पहिलो किस्ता लिएपछि बाँकी किस्ता लिन काम भएको देखाउनैपर्ने प्रावधान छ । अनुदान दुरुपयोग नहोस् भनेर गरिएको यो व्यवस्था उचित छ । तर, लाभग्राहीले काम गरेपछि अनुदानको अर्को किस्ता हातपार्न अनेक चरण पार गर्नुपर्छ । वडा कार्यालयमा निवेदन दिएपछि गाउँपालिका वा नगरपालिका कार्यालय पुग्छ । त्यहाँबाट सिफारिस भएका आधारमा इन्जिनियरले प्रतिवेदन दिनुपर्छ ।

त्यसपछि सहरी विकास कार्यालयमा पुगेर अनुगमन भएपछि जिल्ला समन्वय समिति अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइमा सिफारिस हुन्छ । एकाइको सिफारिसका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयले तोकिएको बैंकमा चेक पठाउँछ । यो प्रक्रिया पूरा हुन धेरै दिन लाग्छ । झन्झटिलो चरण भएकाले पनि सेवाग्राहीले सेवा लिन सकेका छैनन् । प्राधिकरणका अनुसार लाभग्राहीको सूचीमा परेका ७ लाख ६७ हजार ७ सय ५ मध्ये हालसम्म ६ लाख ६४ हजार ६ सय ४४ लाई पहिलो, १ लाख १५ हजार १ सय ९२ जनालाई दोस्रो र २६ हजार ४ सय ५४ जनालाई तेस्रो किस्ताको रकम पठाइएको जनाएको छ ।

प्रतिक्रिया