इलाममा १ हजार ६ सय मिटर उचाईमा पहिलो पटक बोरिङबाट पानी

इलाम, १० पुस । इलामको सूर्योदय नगरपालिकामा बोरिङ प्रणालीबाट पानी निकालिएको छ । एक हजार ६०० मिटर उचाइमा रहेको पहाडमा पहिलो पटक बोरिङ प्रणालीमार्फत पानी निकालिएको हो ।

अलैँची विकास केन्द्रले अलैँची नर्सरीमा सिँचाइको लागि बोरिङ प्रविधिबाट पानी निकालेको अलैँची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिए ।

नेपाल तराई निर्माण तथा डिप ट्वेल प्रालि दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको हो । अलैँची विकास अधिकृत अधिकारीले भने, “पहाडमा बोरिङ प्रविधिबाट पानी निकालिएको यो नै पहिलो हुनुपर्छ ।”

यहाँ पानी निकालिए पछि अग्लो स्थानमा पनि डिप बोरिङ गरेर निकाल्न सकिने ज्ञान र जानकारी बाहिर आएको उनको भनाइ छ । सो क्षेत्रमा पानीको अभाव छ । पानी अभावका कारण अलैँची नर्सरीमा समस्या हुँदै आएको थियो ।

अब भने सहज हुने अधिकृत अधिकारी बताउँछन् । यो प्रविधि भित्रिएसँगै जिल्लाका सुख्खा ठाउँमा खाने पानी तथा सिँचाइको लागि पानी निकाल्न सहज हुनेछ ।

प्रतिक्रिया