गाउँसभा बोलाउन माग

सौर्य समाचार
पाँचथर, १० पुस । फालेलुङ गाउँपालिकामा बहुमत कार्यपालिका सदस्यहरूले गाउँपालिकाको केन्द्र सार्न माग गरेका छन् । हाल गाउँपालिकाको केन्द्र रहेको मेमेङ अधिकांश गाउँपालिकावासीलाई अपायक परेको भन्दै थोकेबुङमा केन्द्र सार्न माग गरेका हुन् ।

केन्द्र सार्ने बारे छलफलका लागि गाउँसभा आह्वान गर्न गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङलाई आग्रह पनि गरेका छन् । फालेलुङ गाउँपालिका–१ का वडाध्यक्ष श्री जवेगू, २ नम्बर वडाध्यक्ष तिलबहादुर खत्री (कावेली), ४ नम्बर वडाध्यक्ष बुद्धि साउदेन (विश्वास), ६ नम्बर वडाध्यक्ष सुुजाता राई, ८ नम्बर वडाध्यक्ष पविन्द्र फागोसहित कार्यपालिकामा रहेका सदस्यहरू पनिता राई लगायतको टोलीले अध्यक्ष केरुङलाई सात दिन भित्रमा गाउँसभा आह्वान गर्न विज्ञप्तीमार्फत माग गरेका हुन् ।

गाउँसभा नबोलाइए गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरूको काम ठप्प पार्नेसम्मका चेतावनी उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् । १९ मंसिरमा गाउँसभा बैठक बोलाए पनि विनाकारण अध्यक्षले बैठक स्थगित गरेको ४ नम्बर वडाध्यक्ष विश्वासले बताए । ‘बैठक कारणविना स्थगित गर्न पाइँदैन तर अध्यक्षले स्थगित भएको जानकारी गराउनुभयो’ उनले भने, ‘६ महिनाभित्रमा कार्यपालिकामा रहेका बहुमत सदस्यले अनुपयुक्त केन्द्र उपयुक्त ठाउँमा सार्न मिल्छ, यद्यपि, उहाँले समय गुजार्न खोजेको देखियो ।’

उनले अध्यक्षले बहुमतलाई कदर गर्न नखोजेको आरोप पनि लगाए । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ मा कुनै गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र परिवर्तन गर्नुपरेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि वहाल भएपछि ६ महिनाभित्र गाउँसभा वा नगरसभामा तत्काल कायम भएका सदस्य संख्याको सामान्य बहुमतको निर्णयबाट त्यस्तो नाम वा केन्द्र परिवर्तन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने र सरकारले सिफारिस प्राप्त भएपछि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संशोधन गर्नसक्ने प्रावधान छ । सोही प्रावधानमा टेकेर गाउँपालिकाको केन्द्र सार्नेबारे छलफलका लागि गाउँसभा आह्वान गर्न भनिएको १ नम्बर वडाध्यक्ष श्री जवेगूले बताए ।

प्रतिक्रिया