राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैनः अध्यक्ष शर्मा

काठमाडौँ, ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताएका छन् ।

दलित सेवा संघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारः चुनौती र सम्भावना’ विषयक गोष्ठीमा उनले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताए ।

“दलित हक अधिकारका सवालमा सबै राजनीतिक दलका दलित एकै मञ्चमा उभिनुपर्छ”, अध्यक्ष शर्माले भने । उनले दलितबर्ग राज्यको उच्च ओहदामा नपुगेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुनेमा पनि जोड दिए ।

नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलालले पछिल्लो समय दलितको अधिकार स्थापित हुँदै गएको बताए । “विश्वेश्वरप्रसाद कोइरालाले दलितको अधिकारलाई स्थापित गर्न प्रयत्न गरे पनि २०४६ सालपछि मात्र मार्ग प्रशस्त हुन थालेको हो”, उनले भने ।

दलित संघका अध्यक्ष चक्रमान विश्वकर्माले दलितको अधिकारलाई संविधानमा समावेश गरे पनि व्यवहारमा कार्यान्वयन हुन किठन भएको बताए ।

उनले जातपातको भेदभावका कारण धेरै मानिसले अकालमै मृत्युवरण गर्नुपरेको छ भन्दै यसलाई रोक्न यस्ता अभियानले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म चल्ने गोष्ठीमा मुलुकभरका ३५ जिल्लाका दलित अगुवा एवं प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष टंक विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया