नेपाल नीति परिवर्तन गर्दै भारत, मोदीले गरे ओली–दाहाल–देउवासँग टेलिफोन वार्ता

शान्तिराम कार्की
काठमाडौं, ७ पुस । छिमेकी मित्रराष्ट्र भारतले नेपालसम्बन्धी नीतिमा पुनर्विचार र परिवर्तन गर्ने संकेत दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी नेतृत्वको वाम–राष्ट्रवादी गठबन्धनले भारी बहुमत ल्याएपछि भारतले आफ्नो नेपालसम्बन्धी नीति पुनर्विचार गर्ने गृहकार्य थालेको हो ।

निर्वाचनमा नेपाली जनताले नेपाल फस्ट नीतिलाई अनुमोदन गरेको निष्कर्षका साथ भारतले आगामी दिनमा नेपाल–भारत सम्बन्ध सुमधुर बनाउनेगरी गृहकार्य थालेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपाल नीतिलाई फेर्ने गृहकार्यमा लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रमुख तीन दलका नेतासँग टेलिफोन वार्ता गरेका छन् । मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका हुन् । वार्ताको क्रममा मोदीले निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई बधाई दिएका थिए भने ओली र दाहाललाई ऐतिहासिक जितका लागि बधाई दिँदै स्थिर सरकार र विकासका लागि अग्रिम शुभकामना दिएका छन् ।

नेपालकै केही राजनीतिक दल र नेताहरू वाम सरकार गठन भएपछि भारतसँगको सम्बन्ध राम्रो नहुने प्रचारमा लागेपछि भारतीय प्रधानमन्त्री मोदीले एकै दिन ओली–दाहाल र देउवासँग टेलिफोन वार्ता गरेका हुन् । ‘प्रधानमन्त्रीले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आजै टेलिफोन वार्ता गर्नुभएको छ, उहाँले वाम गठबन्धनका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग नेपालको पछिल्लो घटनाक्रमबारे वार्ता गर्नुभएको छ,’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले भने । प्रवक्ता रभिश कुमारले टेलिफोन वार्ताको विस्तृत पक्ष भने खुलाएनन् ।

‘टेलिफोन वार्ता चलिरहेकोले विस्तृत जानकारी छैन,’ उनले भने । स्रोतका अनुसार वार्तामा भारत सधँै नेपालमा स्थिर सरकार, स्थायित्व र विकासको पक्षमा रहेको जनाउँदै जनमत सोहीअनुसार आएकोमा आपूm निकै खुसी बनेको बताएका थिए । उनले भारतको हवाला दिँदै नेपालमा भइरहेको दुस्प्रचारबाट आफूहरू निकै दुःखी बनेको भन्दै भारत सदैव नेपाल सरकारसँग सहकार्यका साथ अघि बढ्ने प्रष्ट पारेका छन् । प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँगको टेलिफोन वार्तामा मोदीले नेपाल नीति पुनरावलोकन गर्ने संकेतसमेत दिएको स्रोतको भनाइ छ ।

‘भारत नेसन फस्ट नीतिलाई सकारात्मक मान्छ, चुनावमा नेपाली जनताले नेसन फस्ट नीतिलाई अनुमोदन गर्दै वाम गठबन्धनलाई बहुमत दिए, यसैको जगमा नेपालसँग सुमधुर सम्बन्ध कायम गर्नका लागि नीति बन्छ,’ नेपालस्थित भारतीय दूतावासका एक अधिकारीले भने । भारतीय प्रधानमन्त्री चुनावी परिणाम सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई बधाई दिएका थिए । मोदीले नेपालस्थित आफ्ना राजदूत मञ्जिभसिंह पुरीलाई ओली र दाहालको निवासमै पठाएर बधाईका साथ नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको सन्देश पठाएका थिए ।

निर्वाचनमा बहुमत प्राप्त गरेको वाम गठबन्धनका नेताद्वय ओली र दाहालले समेत मित्रराष्ट्र भारतसँग सुमधुर सम्बन्ध राख्न आपूmहरू कटिवद्ध रहेको धारणा सार्वजनिक गरिसकेका छन् । ओली–दाहालको सो भनाई लगत्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालबारे नीति पुनर्विचार गर्ने भन्दै राजदूत पुरीलाई दिल्ली बोलाएका थिए । भारतीय विदेश मन्त्रालयको निर्देशनअनुसार पुरी दिल्ली पुगिसकेका छन् । ‘नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन राजदूत दिल्ली जानुभएको हो,’ दूतावासका एक अधिकारीले भने ।

प्रतिक्रिया