माओवादी केन्द्रको बैठक सुरु, पार्टी एकता र सरकार गठनबारे छलफल हुने

काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले नेकपा एमालेसँगको पार्टी एकता र सरकार गठनका बारेमा छलफल गर्ने बताइएको छ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ।

सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया