पोखरामा तोडिएला ट्याक्सीको सिन्डिकेट ?

पोखरा । ट्याक्सीमा यात्रा गर्दा मिटरमा उठेको भाडा तिर्छु भन्ने यात्रुले अझै पनि पोखरामा ट्याक्सी चढ्न पाउँदैनन् । ट्याक्सीमा मिटर नभएर यसो गरिएको होइन । ट्याक्सीका चालकको मनोमानिका कारण यात्रु मिटरमा उठेको पैसा तिर्नभन्दा मोलतोलका आधारमा धेरै रकम तिर्न बाध्य छन् । मिटरमा ट्याक्सी नचलेको र चलाउन नसकिने पोखरा ट्याक्सी व्यवसायी समितिका पूर्वअध्यक्ष गान्धीराज गिरी सजिलै बताउँछन् ।

दुई वर्षअगाडि तत्कालीन क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाको निर्देशनमा प्रशासनकै सक्रियतामा केही समय पोखरामा मिटरमा ट्याक्सी नगुडेका पनि होइनन् । तर, निरन्तरको अनुगमनको अभाव र व्यवसायीको मिचाहा प्रवृतिकै कारण त्यसले निरन्तरता पाउन नसकेको हो । वर्तमान क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले पर्यटकीय नगरी पोखरामा कानुनको पालना नहुनु र यात्रु ठगिनु आफैँमा राम्रो सन्देश नभएको भन्दै तत्काल मिटरमा ट्याक्सी चलाउन प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई आफू पोखरा सरुवा भएर आएपछि तुरुन्तै निर्देशन नै दिएका थिए ।

उनको निर्देशन मुताविक सिडिओ अधिकारीले केही सक्रियता देखाएका पनि हुन् । यात्रु नठगिऊन् र तोकिएकै मापदण्डमा यात्रा गर्नपाउने अधिकार सुनिश्चित गर्ने कुरामा प्रशासन अहिले पनि सक्रिय रहेको सिडिओ अधिकारी बताउँछन् । मिटरमा ट्याक्सी चलाउन नमाने प्रशासनमा खबर गर्न उनले दोहो¥याएरै भने ।

सरकारले पछिल्लोपटक तोकेको दररेटअनुसार ट्याक्सी चढ्नेबित्तिकै १४ रुपैयाँ मिटरमा उठ्छ । त्यसपछि प्रत्येक २ सय मिटरमा ७ रुपैयाँ ४० पैसाको दरले मिटर चढ्दै जान्छ । पोखरामा एउटा ट्याक्सीले महँगो लियो भनेर अर्कोमा बार्गेनिङ गर्ने सुविधा पनि यात्रुसँग छैन । किनकि, चोक–चोकमा ट्याक्सी एकाइ समिति छन् । यी एकाइहरूको सिन्डिकेटको (ट्याक्सी चालकको भनाइमा आलोपालो) कारण यात्रु यो सुविधा पाउनबाट वञ्चित छन् । त्यसैले, चालक र एकाइकै तजबिजमा भाडा तिर्नु यात्रुको बाध्यता हो ।

ट्याक्सी व्यवसायी समितिका पूर्वअध्यक्ष गान्धीराज गिरी मिटरमा ट्याक्सी चलाउन नसक्ने अझै पनि प्रस्टै बताउँछन् । उनका अनुसार पोखराजस्तो सहरमा राजधानी काठमाडौंलाई आधार मानेर निर्धारण गरिएको भाडादर कायम हुनै सक्दैन । गिरीले यस्तो दाबी गरिरहँदा तोकिएकै भाडा दरकायम मिटरमै ट्याक्सी गुडाउने गरी पोखरामा विकल्प तयार भएको छ । पोखरामा केही युवाले समिति नै बनाएर दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

यसको नेतृत्व गरेका नलबहादुर गुरुङले समग्र प्रदेश नम्बर चारलाई नै लक्षित गरेर ट्याक्सीमा जारी सिन्डिगेट तोड्ने बताए । उनका अनुसार तत्काल एक सय ट्याक्सी दर्ता प्रक्रियामा लगिने छ । पोखरामा पूर्ण रूपमा मिटरमै सस्तो दरमा यात्रु चढाइने छ । ‘हामी तोकिएकै दरमा सत प्रतिशत मिटरमै यात्रु बोक्छौँ, उनले भने, ‘हामी जारी विकृति अन्त्य गर्न चाहन्छौँ र सुलभ दरमा स्तरीय सेवा दिन तयार छौँ ।’

गुरुङले आफूहरूले चलाउने ट्याक्सी जिपिएस जडित हुने जानकारी दिए । पोखरा भ्यालीबाहेक प्रदेशका जुनसुकै ठाउँमा पुग्न अनलाइनमै बुकिङ गरेर जान सकिने गरी सेवा आरम्भ गरिने उनको दाबी छ । त्यतिमात्र होइन टोलफ्री नम्बर राखेर यात्रुलाई सेवा दिनेसम्म सोच बनाएको उनले बताएका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता प्रक्रिया पनि अगाडि बढाइएको गुरुङले जानकारी दिए ।

सिडिओ अधिकारीले आफूकहाँ दर्ता गर्न आएको बताए । उनले अहिले भइरहेका संस्थाहरूलाई समेत दर्ता नवीकरण नगर्ने भनिरहेका वेला संस्था दर्ता नभई कम्पनीको रूपमा आउन भनेको जानकारी दिए । ‘उहाँहरू दर्ता गर्न आउनुभएको सत्य हो, संस्था दर्ता गर्ने प्राब्धान छैन, उहाँको प्रक्रिया भोलि प्रदेश सरकारले हेर्नेगरी अगाडि बढ्ला, तर व्यवसाय गर्न भने पाउनुहुन्छ, मैले कस्तो प्रविधि हो ल्याउनुहोस् भनेको छु ।’

गुरुङले आफूहरूले सञ्चालन गर्ने ट्याक्सी अबको डेढ दुई महिनामा पोखरामा गुडाउने लक्ष्य राखिएको जानकारी दिए । ‘हेर्नुहोला हामी स्तरीय सेवा दिनेछौँ र यात्रुको मन जित्ने गरी छिट्टै सेवा सञ्चालन गर्ने छौँ’ उनले भने । पोखरा ट्याक्सी ब्यवसाय समितिका पूर्वअध्यक्ष गिरीले मिटरमा चलाउन नसक्ने कुरा अघिल्लो वर्ष नै आफूहरूले विभागमा लेखेर पठाएको बताए । ‘राजधानीलाई हेरेर निर्धारण गरेको भाडादर पोखरामा कार्यन्वयन हुनै सक्दैन,’ उनले भने, ‘बरु स्थानीय लेबलमा कसरी अगाडि बढ्न सकिन्छ यसमा छलफल गरेर अगाडि बढ्न सकिन्छ ।’

गिरीले ट्याक्सीका लागि नयाँ समिति पोखरामा दर्ता हुनै नसक्ने जिकिरसमेत गरेका छन् । बसको जस्तो पोखरामा दर्ता गर्छु भनेर नसोचे हुने उनको भनाइ थियो । ‘यहाँ चाप धेरै भइसकेको छ, दर्ता गरेर कहाँ राख्ने हो, अनि कति प्रदूषित बनाउने हो भन्नेकुरा सोच्नु पर्छ,’ उनले भने, ‘पोखरेलीले यो नसोचे पनि मन्त्रालयले सोचेर पुराना ट्याक्सी विस्थापनका ठाउँमा दर्ताबाहेक नयाँ दर्ता रोकेको छ ।’

 

प्रतिक्रिया