सरकारी गाडी लिएर निर्धक्क चोरी

काठमाडौं । कृष्णसुन्दर श्रेष्ठ सरकारी कर्मचारी हुन् । उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकमा सवारी चालकका रूपमा कार्यरत छन् ।

उनीमाथि आइतबार बिहानै निक्कै अनौठो घटना घट्यो । आपत् नै प¥यो । सदाभैmँ उनी घरबाट कार्यालयका लागि नौ बजे नै सिंहदरबार पुगे, सधँै आफ्नो गाडी राख्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पार्किङमा पुगेका मात्र के थिए । श्रेष्ठले अनौठो दृश्य देखे त्यहाँ । उनले चलाइरहेको बा २ झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीको चार वटै टायर (डिस्कसहित) गायब थियो ।

शुक्रबार कार्यालयबाट बिदा भएर जाँदा राम्रोसँग पार्किङमा राखेर गएको गाडी आइतबार आउँदा त्यो अवस्थामा पाएपछि उनी एकछिन अक्क न बक्क भए । के गर्ने ? के भा’को यस्तो ? उनले कुनै पत्तो पाउन सकेनन् । कसैले झिकेर पो लगेको हो कि ? भनेर बुझ्न मन्त्रालयमा पुगे । बल्ल थाह भयो उनलाई, चार वटै टायर चोरी भएको भनेर ।

चोरीको घटनालगत्तै सिंहदरबारको सुरक्षा दिइरहेको प्रहरीमा पनि खैलाबैला मच्चियो । चौबीसै घण्टा सुरक्षा घेरा अनि चारैतिर सिसिटिभी निगरानीमा रहने सिंहदरबारभित्रै भएको चोरीको खबरले सबैलाई आतंकित पा¥यो । चोरीको घटना भएपछि मन्त्रालयले बिहानै महानगरीय प्रहरी वृत्त अनामनगरमा खबर ग¥यो ।

अनामनगर वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अपिल बोहोरा पनि यस्तो अनौठो खबर सुनेर तीन छक्क परे । खबर सुनेलगत्तै बोहोराले मन्त्रालयको क्षेत्र कभर गर्ने सिसिटिभी फुटेज र शनिबार सिंहदरबार छिर्ने गाडीको नम्बर सूची नियाले । त्यसपछि चोरीको घटनाको रहस्य पत्ता लाग्यो ।

नयाँ टायर चोरेर बेच्ने अरू कोही नभएर स्थानीय निकाय वित्तीय आयोगको कार्यालय, पुल्चोक ललितपुरमा कार्यरत गाडीचालक चन्द्रबहादुर मोक्तान भएको पत्ता लाग्यो । ‘केही घण्टाको प्रयासपछि यो घटनाको रहस्य खुल्यो, सरकारी चालक नै चोरीको घटनामा संलग्न रहेको पत्ता लाग्यो,’ डिएसपी बोहोराले भने । प्रहरीका अनुसार शनिबार कार्यालय बिदाको दिनमा मोक्तान आयोगको सरकारी गाडी लिएर टायर चोर्न पश्चिमी गेटबाट सिंहदरबार छिरेका थिए । झन्डै एक घण्टाभन्दा बढी समय लगाएर उनले सबै चक्काको नट–बोल्ट खोलेर डिस्कसहित टायर निकालेर आयोगकै बा २ झ १२१७ नम्बरको गाडीमा राखेर सिंहदरबारबाट बाहिरिए ।

शंखमूलस्थित बराही टायर सेन्टरमा लगेर बेच्न ठिक्क पारेको सो टायर प्रहरीले फेला पा¥यो । प्रहरीका अनुसार चोरिएका टायर र डिस्कसहितको मूल्य ६ लाख ६२ हजार रुपैयाँमा पर्छ । सिंहदरबार गणका प्रहरी उपरीक्षक प्रेम जोशीले चोरीमा संलग्न चालक मोक्तानलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त अनामनगरमा बुझाइएको बताए । यस्तै, टायर चोरीमा मिलेमतो गरेको आशंकामा सेन्टरका जगतबहादुर मगरलाई पनि पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । टायर चोरी गर्ने मोक्तान श्रेष्ठकै मिल्ने साथी हुन् । सिंहदरबारमा यसअघि पनि पटकपटक टायर र ल्यापटप लगायतका सामान चोरी हुने गरेको थियो ।

प्रतिक्रिया