सुक्दिकीलाई दोहोरो स्वर्ण

काठमाडौं । वीर अस्पतालकी सुक्दिकी शेर्पाले प्रथम नर्सेस एथलेटिक्स मिटमा शनिबार दोहोरो स्वर्ण जितेकी छिन् । सुक्दिकीले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । सुक्दिकीले २.५ किलोमिटर दौडमा पनि थप १ कांस्य जित्दै व्यक्तिगत पदक संख्या ३ पु¥याइन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको १ सय मिटर दौड सुक्दिकीले १७.९८ सेकेन्डमा पूरा गरिन् ।

पाटन अस्पतालकी कोकिला राउत दोस्रो तथा सविना महर्जन तेस्रो भए । ४ सय मिटर दौड सकाउन सुक्दिकीले १ मिनेट २८.७२ सेकेन्ड समय खर्चिन् । एमसीभीटीसीकी दीपिका राईले रजत तथा नेपाल क्यान्सर अस्पतालकी युमा राईले कांस्य हात पारे ।

डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौड ३७.५६ सेकेन्डमा पूरा गर्दै अल्का अस्पतालकी सरस्वती पहिलो भइन् ।  पाटनकी कोकिला दोस्रो तथा ओम अस्पतालकी सीता धामी तेस्रो बने । २.५ किलोमिटर दौडमा एमसीभीटीसीकी दीपिका राईले स्वर्ण, प्रहरी अस्पतालकी खुशी हिराचनले रजत र वीरकी सुक्दिकीले कांस्य जिते ।

४ गुणा सय मिटर रिलेमा अल्का, नेपाल क्यान्सर र ब्लु क्रस अस्पतालले क्रमशः शीर्ष ३ स्थान भित्र दौड टुंगाए ।  रिले बाहेक सबै स्पर्धामा शीर्ष ३ स्थानमा आउनेले क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार पाए ।

रिलेको विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार हात पारे । ब्लु क्रसको आन्तरिक १ सय मिटर दौडमा राजन थापा पहिलो भए । उनले निर्धारित दूरी १६.४८ सेकेन्डमा तय गरे ।  पोखरीप्रसाद ढकाल दोस्रो र सन्दिप रन्जितकार तेस्रो भए ।

विजेतालाई आयोजक फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे । एकदिने मिटमा विभिन्न ९ अस्पतालका २ सय १९ नर्सले सहभागिता जनाएको फाउन्डेसनका महासचिव रजत श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया