दिक्तेल-दुम्ली-दोबेला सडक सञ्चालनमा

खोटाङ, २ पुस । दिक्तेल-दुम्ली-दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो ।

रुपाकोट मझुवागढी नगरपालिका-१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ ।

सडक मर्मत गरेपछि दोर्पा चिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सो बाटोको उद्घाटन गरे ।

करिब २२ किमी लम्बाइ रहेको सडक उद्घाटनका लागि दिक्तेलबाट जिप लिएर दुम्ली-दोबेला पुग्दा हर्षित स्थानीयले अतिथिलाई फूलमालाले स्वागत गरेका थिए ।

रु ३० लाखको लगानीमा दिक्तेल-दुम्ली-रतन्छा सडकको दिक्तेलको अस्पताल चोकबाट ट्र्याक खोल्न थालिएको थियो ।

सडक निर्माणका क्रममा पुरानो र नयाँ निर्माण उपभोक्ता समितिमार्फत करोड बढीको खर्च भएको बताइएको छ । निर्माण कार्य सकिएको लामो समयपछि सडक सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् ।

प्रतिक्रिया