चिनियाँ आर्थिक विकासको चर्चा र नेपाल

एकराज पाठक

अबको चिनियाँ विकास कस्तो होला ? चीनको आर्थिक विकासले उसलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्याउला ?

चीनले पूर्वाधार र प्रविधिमा गरेको प्रगतिले विश्वलाई कस्तो फाइदा पुग्ला तथा उसको महत्वाकांक्षी आयोजना बिआरआइको सञ्चालन कसरी होला भन्ने विषयमा यतिखेर विश्वमा नै बहस जारी छ ।

विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण पनि विश्वमा चीनको चासो र चर्चा बढेको हो ।

यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्कोले गर्दा चीनको चर्चाले लगभग विश्वकै सञ्चारमा स्थान पाउने गरेको छ ।

चीनको चर्चा उसको आर्थिक विकास र समृद्धिका अतिरिक्त गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि झन चुलिन पुग्यो ।

राष्ट्रपति सिले अघि सारेको बिआरआइको विकासमा रफ्तार, पूर्वाधारको विकास र लगानीमा ल्याइएका नयाँ कार्यक्रम, अर्को पाँच वर्षमा गरिने आर्थिक विकास र समग्रमा चिनियाँ माटोमा विकसित हुने समाजवादी व्यवस्थाको व्याख्या र संविधानमै सि चिनफिङवादको व्यवस्था तथा उनी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रपतिमा निर्वाचित हुनुले चीनको चर्चा भएको हो ।

वास्तवमा उनको यो पाँचवर्षे कार्यकाल चीनको आर्थिक र प्राविधिक विकासमा सफल मानिएको छ ।

उनी नेतृत्वमा आएपछि चिनियाँ अर्थतन्त्रको उच्च गतिले बृद्धि भइरहेको र विश्वका प्रभावशाली मुलुकको अग्रस्थानमा चीन रहन सफल भएको प्रतिक्रिया दिन्छन् चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङ ।

चीनको ग्राहस्थ्य उत्पादन विश्वको दोश्रो ठूलो स्थानमा रहनेगरी उल्लेखनीय रुपमा बृद्धि भएको छ ।

चीनले चौतर्फी सुधार गरिरहेको छ र प्रजातान्त्रिक एवम् कानूनी शासनको विकास र प्रविधि तथा पर्यावरणीय रुपमा पनि ठूलो उपलब्धि हासिल गरेको उनको बिचार छ ।

उनी चीनले विश्वको अर्थतन्त्रको बृद्धिमा दिएको योगदान ३० प्रतिशत भन्दा बढी रहेको बताउँछन् । कुनै एक देशले गरेको यो सबैभन्दा बढी आर्थिक योगदान हो ।

यी उपलब्धिसँगै आगामी दिनमा चीनले विश्व शान्ति र विकासलाई अघि बढाउन अधिक प्रयास गर्ने उनी बताउँछन् । सि सत्तामा आएपछि चीनको आर्थिक विकास र सामाजिक सम्बन्धको जालो संसारमा नै फैलाउन सफल भएका छन् ।

पछिल्ला बर्षहरुमा चीनको उन्नतिका खबरहरु बढी नै आएका छन् । र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आगामी बर्षहरुमा विश्वको ठूलो अर्थतन्त्र बन्ने पाइला तय गर्नसक्ने अनुमानसहितका विश्लेषण पनि चीनमा मात्र नभएर संसारका विभिन्न देशबाट सम्प्रेषित हुने गरेका छन् ।

त्यसैले सि चीनका पूर्व राष्ट्रपति माओ जेदुङपछिका शक्तिशाली तथा लोकप्रीय नेताका रुपमा आफूलाई स्थापित भएको बताइन्छ ।

उनले एक समाजवादी राष्ट्रका रुपमा संसारमा चीनलाई चिनाउने आफ्नो योजनाको बारेमा नयाँ आर्थिक कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

ती मध्येको सबैभन्दा महत्वाकांक्षी र ठूलो कार्यक्रम हो ओबिओर । यसलाई चिनियाँ आर्थिक क्रान्तिको अर्को पाटोका रुपमा पनि ब्याख्या गर्ने गरिन्छ ।

सन् २०१२ मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएपछि उसले वैदेशिक लगानीको मात्रामा पनि प्रगति गरेको छ । सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर छ ।

विगतका वर्षका तुलनामा यो निकै धेरै हो । सन् २०१२ को तुलनामा त्यसपछिका पाँच बर्षमा चीनले आर्थिक, पूर्वाधार र विज्ञान प्रविधिको विकास एवम् विश्वको अर्थतन्त्रमा पनि चीनको योगदान बढ्दै गएको बताउँछन् नेपालका लागि चिनियाँ राजदूत यु हङ ।

हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, सिपीसीको १९ औँ काँग्रेसपछि चीन वास्तवमै नयाँ युगमा प्रवेश गरेको छ र यसले राजनीतिक, आर्थिकमात्र नभएर वैदेशिक सम्बन्धमा पनि नयाँ आयाम थपेको छ ।

चीन नेपाल अथवा यसका अरु छिमेकीका साथै अन्य देशहरुसँग पनि समान व्यवहार, पारस्पारिक सहयोग र साझा विकासको अवधारणाबाट अघि बढ्न चाहेको धारणा राजदूत हङको छ ।

आर्थिक विकास, औद्योगिक विकास र पूर्वाधारमा गरिने विकाससँगै चीनले देशमा गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ ।

सन् २०१२ मा चीनमा गरिबी १०.२० प्रतिशत थियो भने सन् २०१६ मा यसलाई ४।५ प्रतिशतमा ल्याइएको छ । सन् २०२० मा गरिबीको मात्रा शुन्यमा ल्याउने योजना चीनले बनाएको छ ।

यसलाई पनि चीनको एक महत्वपूर्ण र महत्वाकांक्षी योजनाको रुपमा लिइएको छ । यसरी चीनले अबका दिनमा विकाससँगै आफ्नो समृद्धिको मार्गचित्र तय गरिरहेको छ ।

चीनले गत जुन २६ मा बेइजिङ—सांघाई चल्ने दू्रत गतिको रेलसेवाको सुरुवात गरेको थियो जुन प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्छ । रेल सेवामा यो ठूलो उपलब्धि हो ।

संसारकै सबैभन्दा तिब्र गतिको रेल हो यो । तर के उसले यो तिब्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त ? यो अहिलेको अहम प्रश्न हो । नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको भान हुन्छ ।

राजनीकि, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन् । यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरुमा बढ्दो छ ।

चीनको बिआरआइ आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो ।

यसबाट आफै र बडो सक्षम रुपमा लाभान्वित हुन सक्नुपर्छ भन्छन् चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्सका प्राध्यापक डा.राजिवकुमार झा ।

चीनको समृद्धिबाट लाभ लिने वा नलिने भन्नेकुरा हाम्रो क्षमतामा भर पर्छ भन्छन् उनी । डा. झा भन्छन्, यत्तिको समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसी हो, तर समुद्रबाट हामीले कति पानी उभाएर लिनसक्छौँ भन्ने कुरा त हामीले नै तयगर्ने हो, उनीहरुले त नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छन् ।

नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ हुनसक्ने धारणा छ उनको ।

हामी यसैबाट समृद्ध बन्छौँ, तर हामीले अब बिआरआइको प्रारुपभित्र यो समृद्धि खोज्नुपर्ने छ-बिआरआइ आयोजनाको सफलताकालागि गठित एक चिनियाँ अर्ध सरकारी थिंक ट्यांक संस्थाका दक्षिण एसिया प्रमुख समेत रहेका डा. झाको धारणा छ ।

चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ पनि चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुत गतिको रेलमा चढ्न स्वागत गरेको बताउँछन् ।

उनी नेपाली जनतासँग साझा समृद्धी र साझा प्रगतिका लागि पनि चीन तयार छ भन्छन् । चीन नेपालको एक असल छिमेकीको नाताले नेपाल समृद्ध होस र हरेक नेपाली नागरिक सुखी र खुसी हुन भन्ने चीनले चाहेको उनको भनाई छ ।

यो संयोग पनि हुनसक्छ कि चीनको समृद्धि र नेपालको विकासका विषयमा नेपालका हितैषी चिनियाँहरुले यस्ता विचारहरु राखिरहँदा नेपालमा पनि चाइना रेलवे एड्मिनिस्ट्रेशनका अधिकारीहरुले केरुङ काठमाडौँ हुँदै लुम्बिनीसम्मको रेलमार्गका लागि सर्वेको काम गरिरहेका छन् ।

उनीहरुले नेपाल सरकार इच्छुक भएमा केरुङ काठमाडौँ रेलमार्ग सम्भव रहेको भन्दै यसको लागतसमेत केही दिनमात्र अघि निकालेका थिए ।

चीनले सन् २०२० सम्ममा उक्त रुटको रेलमार्ग पूरागर्नेगरी काम गर्न सकिने बताउदै आएको छ ।

नेपालको समृद्धि यही रेलमार्गमा छ । चीनबाट आएको रेल यो माथि भनिएको मार्गमा कुद्ने हो भने हामी पनि चीनको द्रुत गतिकै रेलमा सवार हुन सक्ने छौँ ।

प्रतिक्रिया