बर्दिया निकुञ्जमा बाघ गणना सुरु


मुकुन्द सुवेदी
बर्दिया, २ पुस । बर्दिया राष्ट्रिय निकुञ्जमा शनिबारदेखि आधुनिक ‘क्यामरा ट्रयापिङ’ प्रविधिको प्रयोग गीर बाघ गणना सुरु गरिएको छ ।

बाघ गणनाका लागि निकुञ्ज क्षेत्रलाई ३ खण्डमा विभाजन गरी गणना कार्य सुरु गरिएको हो । बाँके, बर्दिया कम्प्लेक्स अन्र्तगतको क्षेत्रमा गणना कार्यका लागि १ सय १३ जना प्रविधिक सहितको विशेषज्ञ टोली खटिएको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । उनले भने, ‘बन्दोबस्तीको सामानसिहत विशेषज्ञसहितको प्रविधिक टोली बाघ गणनाका लागि खटिएको छ । यो टोलीले ६०÷६७ दिनभित्र गणनाको काम सक्नेछ ।’
बाघ गणनाका लागि हरेका समूहमा ८÷८ जना प्राविधिकसहित केही सहयोगी रहने गरी १० वटा समूह परिचालन हुने निकुञ्जले जनाएको छ । बाघ गणनाका लागि २ सयदेखि २ सय २० क्यामेरा जडान हुनेछन् । निकुञ्ज क्षेत्रलाई दुई किलोमिटरको परिधि (१ ग्रिड)मा क्यामरा राखिनेछ । यी स्थानमा १५ दिनसम्म क्यामरा जडान हुनेछन् । प्राविधिकहरूको टोलीले यसको नियमित अनुगमन र सूचना संकलन गर्नेछन् । गणना कार्यमा आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको निकुञ्जले जनाएको छ ।

बाघ हिँडडुल गर्ने सम्भावित स्थानहरू पहिचान गरी क्यामरा जडान गरिनेछ । बाघ हिँड्ने सम्भावित बाटाको दायाँवाया दुबैतर्फ करिब ६ मिटरको दुरी र करिब ४५ देखि ६० सेन्टिमिटर उचाइमा क्यामरा जडान हुनेछन् । क्यामरा जडान भएको बाटो भएर बाघ हिँडेमा उक्त बाघको फोटो क्यामरामा कैद हुनेछ । यसैबाट बाघको पहिचान हुनेछ । क्यामेरा राखेको स्थानबाट कुनै पनि जनावर, मानिस आवतजावत गरेमा पनि ती सबै स्वचालित क्यामेरामा कैद हुनेछन् ।

गणनाबाट निकुञ्जमा पछिल्लो समयमा बाघको वास्तविक संख्या पत्ता लाग्नुका साथै यसको अवस्था, वासस्थान र आहारा प्रजातिबारे जानकारी प्राप्त हुने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । क्यामेराले कैद भएको बाघको फोटोमा बाघको पाटा हेरेर बाघ संख्या यकिन गरिने निकुञ्जले जनाएको छ ।

बर्दियाका साथै देशभरमा बाघको संख्या पत्ता लगाउन बाघ गणना गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकास भट्टराईले बताए । उपमहानिर्देशक भट्टराईले बाँके, बर्दिया कम्प्लेक्समा गणना सकेपछि शुक्ला, लालझाडी जोगबुढा कम्प्लेक्समा बाघ गणना गरिने छ ।

सन् २०२२ सम्म बाघको संख्या दोब्बर अर्थात् २ सय ५० पु¥याउने नेपालको लक्ष्य छ । पछिल्लो गणनाअनुसार नेपालभरमा बाघको संख्या १ सय ५८ रहेको तथ्यांक छ । पछिल्लो गणनाअनुसार बर्दिया निकुञ्जमा वयष्क ५०, अर्धवयष्क ६ र बच्चा(डमरु) २९ वटा गरी ८५ वटा बाघ छन् ।

प्रतिक्रिया